खोटाङको दुई प्रदेश र संघमा एमालेको जित सुनिश्चितः बिशाल भट्टराई

Halesi Khabar
0 Shares

खोटाङ, कात्तिक २६ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । शनिबार साकेला गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले देशैभर एमालेको पक्षमा लहर चलेकाले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।
भट्टराईले खोटाङको दुई प्रदेश र संघमा एमालेको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । ‘एमालेका विरुद्ध एक्ला एक्लै लड्न नसक्ने दलहरु गठबन्धन गरेर चुनावमा आएका छन् । एमालेसँग सिंगल सिंगल चुनाव लड्ने पार्टी अव यो देशमा रहेन,’ उम्मेदवार भट्टराईले भने, ‘संसारमा गठबन्धनले राष्ट्र निर्माण गरेको कुनै इतिहास छैन । एमाले मात्र एक्लै राष्ट्र निर्माणको बाटोमा छ । देशको राष्ट्रिय शक्ति र बलियो पार्टी नेकपा (एमाले) हो । गठबन्धनले हात उठाएर आत्मसमर्पण गरिसकेको अवस्था छ ।’ गठबन्धनको एउटै एजेण्डा एमालेको बिरोध गर्नु मात्र भएको तथा देश बनाउने एजेण्डा एमालेसँग मात्र भएको दावी गर्दै भट्टराईले एमाले जनताबाट अनुमोदन हुनेमा ढुक्क रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
अर्को प्रशंगमा उम्मेदवार भट्टराईले खोटाङमा बिशाल भट्टराई र गठबन्धनका उम्मेदवार रामकुमार राई पासाङले गरेको विकासलाई जनताले नजिकबाट नियालेको बताए । भट्टराईले ‘जिल्लामा कसले बढि विकास गरेको छ ?’ भन्ने विषयमा सार्वजनिक बहसका लागि चेतावनी दिएका छन् । ‘म चुनौती दिन चाहन्छु । हिम्मत छ ? हजारौं जनताको अगाडि बहस गरौं,’ भट्टराईले भने, ‘गठबन्धनका साथीहरु अनेक प्रचारबाजीमा हुनुहुन्छ । मैले गरेको काम र रामकुमारजीले गरेको कामलाई एक ठाउँमा तुलना गरेर हेरौं । कसले कति विकास गरेको छ, त्यो प्रष्ट छ ।’
भट्टराईले प्रदेशको नामाकरण गर्न नसक्नेहरुले उल्टै आफुमाथि दोष थोपर्ने काम गरिरहेको उल्लेख गरे । प्रदेशसभामा रहँदा प्रदेशको नामाकरण गर्न एक शब्द नबोल्ने गठबन्धनका उम्मेदवारले अहिले नामाकरणलाई चुनावी नारा बनाउनु हाँस्यास्पद भएको भट्टराईको भनाई थियो । ‘गठबन्धनका उम्मेदवार जातको कुरा लिएर हिँडिरहनुभएको छ । उहाँहरुलाई हेक्का रहोस्, प्रदेशसभाको नाम राख्न नसक्ने रामकुमार राई र राजन राई हो म होईन,’ भट्टराईले व्यंग्य गर्दै भने, ‘एमाले झुटको राजनीति गर्दैन । प्रदेशसभामा रहँदा प्रदेशको नामको विषयमा एक शव्द पनि बोल्न नसक्नेले अहिले त्यही नामाकरणको विषयलाई चुनावी नारा बनाउन खोज्नु हास्यास्पद हो । जनताले नपत्याउने गफ गर्दै नहिड्नुस् ।’
कार्यक्रममा प्रदेश (ख)का उम्मेदवार रामप्रसाद दंगाल, एमाले केन्द्रीय सदस्य उषाकला राई र रमेशकुमार पौडेल लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया