पिके राईः जसले जयराममा पुल नबनेसम्म प्लेन चढेनन्

Halesi Khabar
0 Shares

खोटाङ, २४ कात्तिक ।  खोटाङको मूख्य प्रवेशद्धारका रुपमा रहेको दुधकोसीस्थित जयरामघाटमा पुल बन्न दशक समय लाग्यो । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने सो पुल निर्माणमा जिल्लाबासीले आ–आफ्नै तरिकाले दवावमुलक गतिविधि चलाए । तत्कालिन संविधानसभा सदस्य रहेका एमाले नेता पाँचकर्ण राई पिकेले ‘जयराममा पुल नवनेसम्म जहाज नचढ्ने’ घोषणा गरे ।

खोटाङमा तीन वटा बिमानस्थल चालु अवस्थामा थियो । तर पुल नवनेसम्म उनी प्लेन चढेनन् । गाडीमै यात्रा गरे । ढिलासुस्ती विरुद्ध जिल्लाबासीले २०७२ साल माघ २४ गते सडक विभागमा धर्ना दिए, घेराउ गरे । धर्ना र घेराउमा जनप्रतिनिधिको रुपमा पाँचकर्णको दर्विलो उपपिस्थति थियो ।


पाँचकर्ण २०७० सालको दोश्रो संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए । संसदमा वहाल रहेकोबेला जिल्लाको सडक, पुल, भवन लगायतका संरचना निर्माणमा उल्लेख्य भूमीका निर्वाह गरेको राई बताउँछन् । विकटका नागरिकले उनलाई ‘झोलुंगे पुल बनाउने नेता’का रुपमा चिन्छन् । २९ वर्ष पार्टीको काम गरेका तिनै पाँचकर्ण अहिले खोटाङ प्रदेशसभा (क)मा एमालेबाट उम्मेदवार छन् । सोझो, इमान्दार र छलकपट नजान्ने राई जिल्लाको विकास र नागरिकको जनजीवनमा फेरबदल ल्याउने योजनासहित चुनावी मैदानमा उत्रिएको बताउँछन् । राजनीतिका अनुभवी खेलाडी राई गठबन्धनबाट उठेका नेकपा (एस)का बीरवलकाजी राई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल, जसपाका राकेश राई लगायतलाई हराउने जोडवलमा छन् ।


यस्ता छन् पिकेका योजना
खोटाङलाई अहिले पनि पूर्वको कणार्ली भन्ने गरिन्छ । खोटाङलाई सुगम बनाउने नेतृत्वको खाँचो जहिल्यै खड्किरहेकोछ । त्यही खाँचो पुरा गर्ने लक्ष्यका साथ एमालेले पाँचकर्णलाई जनअनुमोदित हुन उम्मेदवार बनाएको हो । हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाँउपालिका, ऐसेलुखर्क गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका जोड्ने सडक कालोपत्र गर्ने, महुरे–फोक्सिङ्टार सडक कालोपत्रेको कामलाई पुरा गर्न पहल गर्ने पाँचकर्णका सपना छन् ।


उनले हुर्लुङ–जालपा सडक कालोपत्रे सम्पन्न गर्न पहल गर्ने, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम सुरु गर्न पहल गर्ने, अलपत्र अवस्थामा रहेको हलेसी बृहत खानेपानी आयोजनालाई सम्पन्न गर्ने, जिल्लामा उत्पादन हुने कृषिजन्य वस्तुलाई बाहिरी जिल्लामा निर्यात गर्न पहल गर्ने, अधिकांश पालिकामा भएको खानेपानीको समस्या हल गर्ने उम्मेदवार राईले बताए । यस्तै, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी जस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी समृद्ध खोटाङ निमार्ण गर्ने लक्ष्यका साथ उनी मतदाताको माझमा पुगेका छन् ।


संघर्षले जन्माएको नेता
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा बुबा भौराज राई र आमा रत्नमायाँ राईको कान्छो सन्तानको रुपमा पिकेको २०२१ सालमा चैत्र १५ गते जन्म भएको हो । चम्पावती मावि बुईपाबाट औपचारिक शिक्षा सुरु गरेका राई कक्षा १ देखि १० सम्स सधै प्रथम हुन्थे । २०३८ सालमा एसएलसि उत्तिर्ण गरे ।बाल्यकालमा पिकेका कुसल प्रशासक बन्ने लक्ष्य थियो । तर औपचारिक रुपमा राजनीतिक यात्रा सुरु भएकाले उनको लक्ष्य पनि मोडियो । ‘राजनीतिमार्फत नै देश परिवर्तन गर्न सकिन्छ’ भन्ने संकल्पसहित उनी २०३७ सालमा अखिल पाँचौंको चम्पावती माबि प्राक सचिवको जिम्मेवारी लिएर राजनीतिमा होमिए । उनको अथक राजनीतिक यात्रा हालसम्म निरन्तर अघि बढिरहेको छ ।

पाँचकर्णले २०४५ सालमा रत्नराज्य क्याम्पसबाट आमसञ्चार तथा पत्रकारिता बिषयमा स्नातक उत्तिर्ण गरे । त्रिभुवन बिश्वबिद्यालयमा राजनिति शास्त्रमा स्नातक अध्यनका क्रममा २०४८ सालमा संसद सचिवालयमा रिपोटिङ्ग शाखा अधिकृत बनेर दुई वर्ष काम गरे । जागीर छाडेर २०४६ सालमा काठ्माडौं महानगर–९ को एमाले सचिवको जिम्मेवारी सम्हाल्न पुगे । केही समयपछि काठ्माडौं क्षेत्र नम्बर १ को सदस्यको जिम्मेवारी पाए । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा काठ्माडौं महानगर–९ मा एमालेले उनलाई वडाध्यक्षमा उठायो तर पराजित भए ।


मदन भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि एमालेले धर्मपत्नी (वर्तमान राष्ट्रपति) बिद्यादेवी भण्डारीलाई २०५१ सालमा भएको निर्वाचनमा काठमाण्डौँ क्षेत्र नं १ बाट सांसदमा उठायो । भण्डारी भारी मतका साथ विजयी भइन् । राईले भण्डारीको स्वकीय सचिवको रुपमा काम गर्ने अवसर पाएका थिए ।२०५४ सालमा महाकाली सन्धीको विषयलाई लिएर एमालेमा विभाजन आयो । कोही एमालेमा रहे, कोही मालेमा लागे । खोटाङका अधिकांश नेता मालेमा लागे । जिल्ला एमालेविहिनको अवस्थामा पुग्यो । त्यो बेला भण्डारीकै सल्लाहमा राई पार्टी बनाउन जिल्ला फर्किए ।

जिल्ला फर्किएपछि उनले सचिवालय सदस्यको जिम्मेवारी लिए । २०६० सालका सगरमाथा अञ्चल कमिटि सदस्य भएर काम गरे । २०६४ सालमा भएको ऐतिहासिक सबिधान सभाको निर्वाचनमा उनी पराजित भएका थिए । तर निर्वाचित हुँदा वा नहुँदा २९ बर्षदेखि खोटाङको विकास र यहाँको समस्यालाई समधान गर्न निरन्तर खटिइरहेको राईले बताए । प्रस्तुतीः राजन ठटाल

तपाईको प्रतिक्रिया