खाेटाङमा गठबन्धन धरापमा, कांग्रेसले भन्याे हाम्राे आधिकारिक उम्मेदवार धर्मराज पाेखरेल

Halesi Khabar
0 Shares

खोटाङ, १६ कात्तिक । टिकट वितरणमा असन्तुष्टी जनाउँदै खोटाङ प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार उठाएको कांग्रेसले नेकपा माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । कांग्रेस नेता धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि गठवन्धनभित्र निम्तिएको समस्या ‘सेटल’ गर्नका लागि बुधबार बसेको बैठकले माओवादी केन्द्रसँग वार्ताका लागि उपसभापति इवन राईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेस महाधिबेसन प्रतिनिधि बिश्वनाथ निरौला र नेता मनोज तिम्सिनालाई सदस्यको जिम्मेवारी दिइएको छ । साझा सहमतीको विन्दुमा पुग्न र निर्वाचनमा जित निकाल्नका लागि कार्यदललाई आगामी मंसिर ३ गतेसम्मकै समय दिइएको नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए ।
खोटाङमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई र प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई चुनावी मैदानमा छन् । कांग्रेसका स्वतन्त्र उम्मेदवार पोखरेल चुनाव चिन्ह धारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । यही कारण प्रदेशसभा (क)मा खुलेर गठबन्धनको कांग्रेससहितको संयुक्त घरदैलो कार्यक्रम हुन सकेको छैन । वरु स्वतन्त्र उम्मेदवार पोखरेललाई अघि लगाएर कांग्रेस सभापति राई सहितका अधिकांश नेता छुट्टै दौडधुपमा व्यस्त छन् । वार्ता गर्न कार्यदल बनाए पनि प्रदेशसभा (क)मा माओवादी केन्द्रले ‘धारा’मा भोट हाले मात्र प्रतिनिधिसभामा ‘हँसिया हथौडा’मा भोट हाल्ने कांग्रेसको बटमलाईन देखिन्छ । कांग्रेसले गठबन्धन घटक नेकपा (एकीकृत समाजवादी)सँग भने वार्ता तथा छलफल गर्न चासो देखाएको छैन । प्रदेशसभा (क)मा माओवादीले आफ्नो स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्ने अवस्था बने माओवादीलाई पनि प्रतिनिधिसभामा भोट नहाल्ने अडानमा कांग्रेस अघि बढेको छ । स्वतन्त्र उम्मेदवारलाई अघि सारेर कांग्रेस सिंगल लड्न पनि तयार देखिन्छ । ‘प्रदेशसभा (क)मा माओवादीले धारामा भोट दिनुपर्छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई भोट हाल्छ,’ सभापति राईले भने, ‘प्रदेशसभा (क)मा जो समस्या सिर्जना भएको छ, त्यसलाई वैज्ञानिक विधिबाट हल गर्ने प्रयासमा कार्यदल बनाइएको हो । गठन्धनलाई स्वीकार्य हुने विकल्पमा छलफल हुन्छ । तर माओवादीले वार्ताको रणनिती कसरी तयार गर्छ, त्यसमा पनि भर पर्छ ।’
प्रदेशसभा (क)मा कांग्रेसको करिब १७ हजार मत छ । त्यसमा माओवादी केन्द्रको मत थप हुँदा विजय निश्चित रहेको कांग्रेसको दावी छ । तर, गठबन्धनका नाममा माओवादी केन्द्रले कांग्रेसलाई टुक्र्याउन खोजे धारा र कलममा मत बाँडिएर एमालेले जित्ने खतरा रहेको सभापति राई बताउँछन् । कांग्रेसका केही नेता भने गठबन्धनकै पक्षमा मत हाल्नुपर्ने पक्षमा पनि देखिएका छन् । ‘माओवादीको चाहना कांग्रेस नेतालाई गठबन्धनमा तान्ने हुन सक्छ । उहाँहरु गठबन्धन–गठबन्धन भन्दै हिँड्नुहुन्छ । धारामा खस्ने मत विभाजित भएर कलममा झर्छ । त्यसलेचैं हाम्रो अभिष्ट पुरा हुँदैन,’ राईले भने, ‘एमालेको चाहना पनि स्वतन्त्र उम्मेदवार व्याक नहोस् भन्ने छ । सहमती नजुटे कांग्रेसको भोट छरपष्ट हुनेछ । त्यो अवस्थामा धाराले पनि जित्दैन, कलमले पनि जित्दैन, सुर्यले जित्छ । एमालेले फाइदा उठाउन सक्छ ।’
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएको भन्दै कांग्रेसका पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया