किरात राई पत्रकार सङ्घ खोटाङका अध्यक्षमा अशल चरित्र चयन

Halesi Khabar
0 Shares

खोटाङ, २३ भदौ । किरात राई पत्रकार सङ्घ खोटाङका अध्यक्षमा अशल चरित्र राई सर्वसहमत चयन हुनुभएको छ । दिक्तेलमा आज (बिहीबार) सम्पन्न किरात राई पत्रकार सङ्घको पाँचौ जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

पत्रकार सङ्घको जिल्ला उपाध्यक्षमा सुनिता राई, सचिवमा योगिन राई, सहसचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका राई चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः क्रिष्टिना राई, जीवन चाम्लिङ राई, अशोक राई, एल्जिना राई, पवित्रा राई र सदीक्षा राई चयन हुनुभएको सङ्घका निवर्तमान अध्यक्ष गोमा राईले जानकारी दिनुभयो ।

पत्रकार सङ्घको सल्लाहकार समितिमा उजुर राई, डम्बरसिं राई र दमन राई रहनुभएको छ । किरात राई पत्रकार सङ्घको अध्यक्षमा चयन हुनुभएका राई खोटाङमै प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाका प्रबन्धक हुनुहुन्छ ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको जिल्ला अधिवेशनले आगामी भदौ–३१ गते काठमाडौँमा हुने पाँचौँ केन्द्रीय महाधिवेशनका लागि उजुर राई, गोमा राई, सञ्जिव राई र टिवन राई प्रतिनिधि चयन गरेको छ । किरात राई पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राई, नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई, नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका अध्यक्ष फूर्वा शेर्पा, किरात राई यायोख्खाका सचिव युगशन किराँत, जिल्लास्थित विभिन्न पत्रकारहरुको पेशागत सङ्घ सङ्गठनमा आवद्ध पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष राईले पत्रकारिता पेशालाई मर्यादित, सन्तुलित र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभएको छ । पत्रकारितामा आउने भावी पुस्तालाई सफल, सबल र पेशाप्रति कर्तव्यनिष्ठ बनाउनसमेत अहिले निर्वाचित भएर नेतृत्वमा आएका पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष राईले सुझाव दिनुभयो ।

 

तपाईको प्रतिक्रिया