चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित

Halesi Khabar
0 Shares

खोटाङ, १६ भदौ । नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको हो ।

महासचिवमा सुनिलकुमार थापा निर्वाचित हुनुभएको जनाइएको छ । बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् ।

उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भएका छन् । सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् ।

कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ । नेपालभित्रै नेपाली फिल्मलाई रक्षात्मक स्थितिमा पुग्ने अवस्थाको अन्त्य गर्नु आफ्नो मुख्य प्राथमिकता भएको खड्काले बताउनुभयो ।

नेपाली फिल्मलाई प्राइम टाइमको शो उपलब्ध गराउन पहल गर्ने र सर्भर चार्ज, विज्ञापन तथा पोस्टरको नाममा अनावश्यक आर्थिक बोझ बोकाउने कार्यविरुद्ध पनि आफूले काम गर्ने उहाँको भनाइ छ । विदेशी फिल्मबाट नेपाली फिल्म पेलिएको भन्ने यथार्थबारे आफू जानकार रहेको भन्दै खड्काले यसविरुद्ध पनि उभिने बताउनुभयो ।

अन्य चुनौती परास्त गर्न चलचित्र विकास बोर्ड र चलचित्र सङ्घसँग सहकार्य गर्न सकिने उहाँले बताउनुभयो । नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया