एमालेका कारण १ नं. प्रदेशको नाम राख्न सकिएन : खानेपानीमन्त्री राई

Halesi Khabar

खोटाङ, २ भदौ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले अहिलेको सरकारको कार्यकालभित्र प्रदेशको नामाकरण गर्न कठिन भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण प्रदेशको नाम राख्न नसकिएको आरोप लगाउनुभएको छ ।

पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार हुँदा दुई तिहाइ बहुमत भएपनि एमालेको नेतृत्वले नाम राख्न आनाकानी गरेको मन्त्री राईले दाबी गर्नुभयो । “प्रदेश १ मा शेरधन राईको नेतृत्वमा नेकपाको सरकार हुँदा दुई तिहाइ बहुमत थियो । प्रदेशको नाम पारित गर्न कुनै समस्या थिएन तर, एमालेको नेतृत्वले आनाकानी गरेपछि प्रदेशको नाम राख्न सकिएन”, उहाँले भन्नुभयो, “पहिचानसहितको नाम राख्न अहिलेको गठबन्धन सरकार लागि परेपनि एमाले कोशी प्रदेश भन्दा अरुमा सहमति नगर्ने भएपछि प्रदेशको नाम राख्न नसकिएको हो ।”

“गठबन्धनको सरकारसँग दुई तिहाइ बहुकम छैन, नाम पारित गर्न एमालेको साथ चाहिन्छ तर, एमाले कोशी राख्नेभन्दा अरु कुरै गर्दैन”, मन्त्री राईले भन्नुभयो, “प्रदेशको नाम भूगोल र नदीको नामबाट भन्दा पनि पहिचानका आधारमा राख्नु पर्ने हाम्रो ठहर छ । आवश्यकता पनि त्यहि हो । त्यसैले एमालेका कारण यो सरकारको कार्यकालमा प्रदेशको नाम करिब नटुङ्गिने पक्का जस्तै भएको छ ।”

नाम राख्न असफल भएपनि प्रदेश एक सरकारले धेरै राम्रा र महत्वपूर्ण कामको थालनी गरेको मन्त्री राईको दाबी छ । “केही कामहरु पूरासमेत भइसकेका छन्”, उहाँले भन्नुभयो, “हामीले शुरुवात गरेका अधिकांश काम जनताले प्रत्यक्षरुपमा अनुभव गर्ने किसिमका रहेका छन् । आफ्नो कार्यकालमा पूरा नहुने कामलाई आगामी दिनमा पनि निरन्तरता दिन खबरदारी गर्नेछौँ ।”

मन्त्री राईले आफ्नो पार्टी माओवादी केन्द्रले पहिचानको आधारमा १ नं. प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने माग गरेको बताउनुभयो । “किराँत जाति हैन सभ्यता हो”, उहाँले भन्नुभयो, “पहिचान बिरोधी एमालेले सभ्यतालाई जातिसँग जोडेर बखेडा झिकिरहेको छ । आसन्न निर्वाचनमा पहिचान पक्षधरको बहुमत ल्याएर पहिचानको आधारमा १ नं. प्रदेशको नाम किराँत प्रदेश राख्नेछौँ ।”

एक अर्को प्रशङ्गमा मन्त्री राईले संविधान र देशमा भएको सकारात्मक परिवर्तन जोगाइराख्न अहिलेको गठबन्धन बनेको बताउनुभयो । आगामी नर्वाचनमा समेत देशभर गठबन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया