खोटाङ, २४ साउन ।
जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध बिच्छेदका १८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फछ्र्यौट भएको छ भने, ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९÷८० का लागि जिम्मेवारी सरेको जनाइएको छ ।
गत वर्षहरुको तुलनामा यस वर्ष सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभएको छ । “आर्थिक वर्ष २०७७÷७८ मा ७० वटा मुद्दा दर्ता भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा सम्बन्ध बिच्छेद गर्ने दम्पत्तीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।”
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ । जिल्लाका अधिकांश महिलाहरु आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान वैदेशिक रोजगारीमा गएको समयमा सासू÷ससुरले हेरबिचार नगरेको भन्दै सम्बन्ध बिच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ ।
माधक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताउनुभयो । “कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ”, उहाँले भन्नुभयो, “आफूखुशी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागी विवाह गरेर ४५ वर्षसम्म श्रीमान÷श्रीमती मिलेरसँगै जीवन बिताएका जोडीहरुसमेत सम्बन्ध बिच्छेद गर्न अदालत आउने गरेका छन् ।”
पछिल्लो समय कानूनी रुपमा मात्रै सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको अधिवक्ता कुवीरकाजी राईले बताउनुभयो । “केही जोडीहरु युरोपियन मूलुक जानका लागि सहमतिमै सम्बन्ध बिच्छेद गर्छन् । तर, उनीहरुको आपसी सम्बन्ध बिग्रिएको हुन्न”, उहाँले भन्नुभयो, “श्रीमान÷श्रीमती दुवैले हामी सम्बन्ध बिच्छेद गर्न तयार छौँ भनेपछि सहयोग गर्नुप¥यो ! तर, उनीहरुले कानूनी रुपमा मात्रै सम्बन्ध बिच्छेद गरेका हुन्छन् ।”
यसैबीच, जिल्ला अदालत खोटाङमा गत आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न शीर्षकमा ३१९ वटा मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १२९ गरी ४४८ मुद्दा हेरिएकामा २६९ मुद्दा फछ्र्यौट भएको छ भने १७९ मुद्दा आर्थिक वर्ष २०७९÷८० का लागि जिम्मेवारी सारिएको छ ।
सम्बन्ध बिच्छेदमा १८४, अङ्शबण्डामा ३६, अपुताली सम्बन्धी १, जग्गा सम्बन्धी २, लेनदेन सम्बन्धी १६, लिखत बदर सम्बन्धी १३, मानाचामल सम्बन्धी ११, भूमि सम्बन्धी १ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, राज्यबिरुद्धको कसूर १, हातहतियार तथा खरखजना १४, बहुविवाह ७, बालविवाह १, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या दुरुत्साहन १, जबरजस्ती करणी १६, हाडनाता करणी ११, जबरजस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोग सम्बन्धी ८ मुद्दा परेका छन् ।
चोरी तथा डाका कसूरमा २३, ठगी २, आपराधिक प्रवेश ४, पशुपंक्षी सम्बन्धी कसूर ५, नागरिकता कसूर १, लागूऔषध सम्बन्धी कसूर ४, सवारी ज्यान वा अङ्गभङ्ग १६, कुटपिट वा अङ्गभङ्ग , जालसाजी ५, लुटपाट १, गाली बेइज्जती सम्बन्धी कसूर १६ र चेक अनादर सम्बन्धी ४ वटा मुद्दा जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७÷७९ मा अदालतमा दर्ता भएका ६० प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार यादवले जानकारी दिनुभएको छ ।


