वरिष्ठ पत्रकार आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

Halesi Khabar
0 Shares

खोटाङ, १५ साउन । जिल्लाका सबैभन्दा जेष्ठ तथा वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार आचार्यलाई शहीद मनोज जोशीको ३१ औँ स्मृति दिवसको अवसरमा आज (आइतबार) नगद रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार आचार्यले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पु¥याउनुभएको योगदानको कदर गर्दै ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको शहीद मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । पत्रकार आचार्यको अनुपस्थितिमा उहाँका जेठा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मान–पत्र हस्तान्तरण गरिएको छ ।

वि.सं. २०३२ सालदेखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार आचार्य हाल जिल्लाबाट प्रकाशन हुँदै आएको खोटाङ खबर साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ । बिगत ४७ वर्षदेखि सक्रियरुपमा पत्रकारिता गरिरहनुभएका पत्रकार आचार्यलाई वि.सं. २०७४ सालमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वि.सं. २०१२ साउन–२ गते जन्मनुभएका पत्रकार आचार्यलाई विभिन्न सङ्घ संस्था तथा कार्यालयले सम्मान एवम् पुरस्कृत गर्दै आएको छ । नेपाल प्रेस युनियन खोटाङका सल्लाहकारसमेत रहनुभएका वरिष्ठ पत्रकार आचार्य स्वच्छ छविका हुनुहुन्छ ।

शहीद मनोजमार्ग सरसफाई, रक्तदान, अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम गर्दै जिल्लामा शहीद मनोज जोशी–झपेन्द्र कार्की स्मृति दिवस मनाइएको छ । वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा जोशीलाई लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहारसमेत गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी जोशीको हत्या भएको सोही घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा शहीद ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइँदै आइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बुबा नारायणप्रसाद र आमा अम्बिका जोशीको कान्छो छोरा शहीद मनोजको वि.सं. २०३० असोज–२३ गते जन्म भएको थियो । वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित शहीद मनोज जोशी इन्द्रणी साँस्कृतिक समाज तथा युवा सङ्गठनमा आवद्ध थिए ।

शहीद जोशीको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइएपनि जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रमा निर्माण सामग्री राखेर शहीदहरुप्रति नै अपमान गरेको पाइएको छ । शहीद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल बनाएको विषयमा प्रतिष्ठानको समेत चासो गएको छैन ।

स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्की लगायतका निर्माण सामग्री भण्डारण गर्ने गरेका छन् । शहीद जोशीको समाधि तथा शालिक राखिएको ठाउँ हडपेर जथाभावी व्यापारिक प्रयोजनका सामग्री राखिएको विषयलाई लिएर परिवारले भने दुःख व्यक्त गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया