खोटाङ, खोटाङमा विभिन्न कार्यक्रम गरेर ३१ औ सहिद मनोज–झपेन्द्र स्मृति दिबस मनाईने भएको छ । शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर स्मृति दिबश मनाउने तयारी गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ ।
स्मृति दिवसको अवसरमा साउन १३ गते बिहान दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गर्नुका साथै अनेरास्ववियुको संयोजनमा रक्तदान, साउन १४ बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र साउन १५ गते जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताउनु भयो ।
प्रतिष्ठानले १५ साउन देखि खोटाङ फुटबल एकेडेमीको आयोजनामा सुरु हुने फुटबल प्रतियोगीताको प्रथम पुरस्कार प्रयोजनको घोषणा गरेको जनाएको छ । जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदै आएको अध्यक्ष आचार्यले जनाकारी दिनु भयो । जोशीलाई सरकारले २२ माघ २०७४ मा सहिद घोषणा गरेको थियो ।
१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा जोशीले ज्यान गुमाएका थिए भने, कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा कास्कीका वारुणयन्त्र चालक कार्कीले ज्यान गुमाउनु परेको थियो ।


