खोटाङ, ७ साउन । धार्मिक भ्रमण तथा छिमेकी जिल्लाका वृद्धवृद्धासँग भेटघाट गर्ने क्रममा दिक्तेल आइपुगेका ओखलढुङ्गाका ज्येष्ठ नागरिकले खोटाङका जेष्ठ नागरिकसँग घेटघाट गर्नुका साथै आपसी अनुभव आदान–प्रदान गरेका छन् । दिक्तेल बजारस्थित पर्यटकीयस्थल मझुवागढीसँगै रहेको कालिका भगवती मन्दिरको दर्शन गर्न दिक्तेल आइपुगेका ओखलढुङ्गाका ज्येष्ठ नागरिकले शनिबार खोटाङका ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुका साथै आपसमा अनुभव आदान–प्रदान गरेका हुन् ।
ओखलढुङ्गाका ज्येष्ठ नागरिकका लागि खोटाङका ज्येष्ठ नागरिक सङ्घले दिक्तेलस्थित आफ्नै कार्यालयको प्राङ्गणमा स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ–आफ्नो जिल्लामा भए÷गरेका कामको प्रगतिका बारेमा एकअर्काले जानकारी गराएका थिए ।
कार्यक्रममा आ–आफ्नो जिल्लाको संस्थागत काम तथा प्रगतिका बारेमा जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक सङ्घ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । “ज्येष्ठ नागरिकको ज्ञान, सीत र अनुभवलाई युवा पुस्ताले अनुशरण गर्ने ‘सिस्टम’ नभएको पाइयो”, उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्वपूर्ण हात रहने हुन्छ । हामीले यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौँ पनि जिताउँछौं पनि । निर्णायक शक्ति त वृद्धवृद्धा हो । देश विकास गर्न युवा पुस्ताले वृद्धवृद्धाको ज्ञान, सीप र अनुभवलाई अनुशरण गर्न आवश्यक छ ।”
दुई जिल्लाका ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरी विवाह नगरी बसेका वृद्ध र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा समेत चर्चा चलाइएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं.–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।
ओखलढुङ्गाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपप्रमुख बस्नेतसहित १४ जना जेष्ठ नागरिक सहभागी थिए । सोलुखुम्बू, सङ्खुवासभा हुँदै खोटाङ आइपुगेको सो टोलीले शनिबार बिहान दिक्तेलस्थित कालिका भगवती मन्दिरको दर्शन गरेका छन् ।
यता, वि.सं. २०७० सालमा गठन भएको जेष्ठ नागरिक सङ्घ खोटाङमा आवद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारी लगायतका विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारी समेत गर्दै आएका छन् । स्थानीय दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित जेष्ठ नागरिक सङ्घमा जिल्लाका ३७१ जना वृद्धवृद्धा आजीवन सदस्य छन् ।
जेष्ठ नागरिक सङ्घ खोटाङले करीब दुई वर्ष लगाएर रु २१ लाख लगानीमा दिवा सेवा केन्द्र भवनसमेत निर्माण गरेका छन् । चन्दा सङ्कलन, देउसी÷भैलो तथा दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको दिवा सेवा केन्द्रको भवनलाई सुरक्षित बनाउन नगरपालिकाको रु १५ लाख लगानीमा घेराबार र प्रवेशद्धार निर्माण गरिएको छ ।
जेष्ठ नागरिक तथा बालमैत्री सौचालय समेत रहेको सङ्घको दुई तले पक्की भवन भवनगैरास्थित कर्मामन्दिर नजिकै हुलाक डाँडामा छ । गर्मी मौषममा बढी घाम लाग्दा र वर्षाद्को समयमा पानी पर्दा ओत लाग्न मिल्नेगरि आफ्नै लगानीमा भवन निर्माण गरिएको जेष्ठ नागरिक सङ्घले जनाएको छ ।
ज्येष्ठ नागरिकहरुबीच भेटघाट गर्न र अनुभव आदानप्रदान गर्न आफ्नै भवन निर्माण गरेर दिवा सेवा केन्द्र स्थापना गरिएको सङ्घका अध्यक्ष घिमिरेले बताउनुभएको छ । “दिवा सेवा केन्द्र सञ्चालन गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूका लागि दिवा सेवा सुख÷दःखको अनुभव साटासाट गरे दिन बिताउने थलो बनेको छ ।”
पाहारिलो घाममा भेला भएर सुख, दुःखका अनुभव आदानप्रदान गर्दै दिनभर बस्ने जेष्ठ नागरिक सङ्घ खोटाङमा आवद्ध वृद्धवृद्धा दैनिक बिहान खाना खाएर दिवा सेवा केन्द्रमा आएका हुन्छन् । केन्द्रमा भेला हुने उनीहरु घाम मात्र तापेर बस्दैनन् ।
आ–आफ्नो नामको गमलामा पानी हाल्छन्, भजन गाउछन्, महाभारत, गीता, स्वस्थानी लगायत विभिन्न धार्मिक ग्रन्थमा आधारित किताब पढ्छन्, कथा सुनाउछन् र ऐतिहासिक कुराहरु गरेर दिन बिताउँछन् । दिवा सेवा केन्द्रमा रोपिएको फूलको गमलै पिच्छे फूल रोप्ने व्यक्तिको नाम र ठेगाना उल्लेख गरिएको छ ।
यसअघि समय बिताउनै मुस्किल हुने वृद्धवृद्धालाई दिवा सेवा केन्द्र स्थापना भएपछि सुख÷दुःखको अनुभव साटासाट गर्ने रमाइलो थलो बनेको छ । दिवा सेवा केन्द्रमा नाच्ने, गाउँने धेरैजना हुने भएकाले केन्द्रमा भेला हुने वृद्धवृद्धा खुसी र तनावरहित देखिन्छन् ।


