आगामी फागुनमा ‘खोटाङ प्रतिभा २०७९’ आयोजना गरिने

Halesi Khabar
0 Shares

खोटाङ, १७ असार । खोटाङ कलाकार समाज, काठमाडौँले आगामी माघ÷फागुनमा एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगिता गर्ने भएको छ । समाजले शुक्रबार दिक्तेलमा पत्रकार सम्मलेन गर्दै ‘खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा र खोटाङ प्रतिभा २०७९’ आयोजना गर्ने जानकारी दिएको हो ।

खोटाङको गाउँबस्ती, टोलटोलमा लुकेर रहेका गायन, नृत्य र स्थानीय साँस्कृतिक प्रतिभाहरुलाई मध्यनजर गर्दै गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगिता गर्ने तयारी गरिएको समाजका अध्यक्ष रुपकुमार राईले बताउनुभयो । पहिलो चरणमा खोटाङका दशवटै स्थानीय तहमा पालिकास्तरीय र पालिकास्तरीय प्रतियागिताबाट छानिएका तीन विद्याका उत्कृष्ट ३० प्रतियोगीबीचमा अन्तरपालिकास्तरीय प्रतिष्पर्धा गराएर जिल्लास्तरीय प्रतिभा घोषणा गरिने समाजले जनाएको छ ।

उत्कृष्ट घोषित प्रतिभालाई आफ्नो कलालाई व्यवसायिकता दिनुका साथै समाज र जिल्लाप्रति उत्तरदायी र प्रभावकारी भूमिका निर्वाहका लागि प्रोत्साहित गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । समाजले जिल्लाका स्थानीय तहसँग हातेमालो गर्दै गायन, नृत्य र प्रतिभा प्रतियोगिता गर्न लागेको हो ।

पालिकास्तरीय गायन र नृत्य प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः रु ३० हजार, रु १५ हजार र रु दश हजार नगद पुरस्कार प्रदान गरिने छ । एक जनालाई रु ३० हजारको प्रतिभा पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

यस्तै, जिल्लास्तरीय गायन र नृत्य प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र शान्त्वना स्थान प्राप्त गर्ने प्रतिभालाई क्रमशः रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गरिने समाजका महासचिव धर्मराज पोखरेलले जानकारी दिनुभयो । यस्तै रु एक लाख राशीको खोटाङ प्रतिभा पुरस्कार एक जनालाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यपी रुपमा चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । प्रतियोगितालाई कम्तिमा दुई वर्षको अवधिमा निरन्तरता दिइने जनाइएको छ ।

यस्तै, समाजले आगामी भदौ १८ गते काठमाडौँमा खोटाङ विशेष साँगीतिक कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा गायिका कला राई, बिक्रम राई, मीना राई, अनिल राई, गीतकार भुवन पारुहाङ लगायतको उपस्थिति थियो ।

जिल्लाका स्थापितदेखि सङ्घर्षरत कलाकारलाई एउटै छानामुनि गोलवद्ध गरेर संस्थागत रुपमा योगदान दिन र लक्ष्य प्राप्ति गर्ने उद्देश्य खोटाङ कलाकार समाज स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । वि.सं. २०७७ साल असोजमा औपचारिक रुपमा दर्ता गरेर खोटाङ कलाकार समाज स्थापना गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया