रावाबेँसीको वार्षिक बजेट ३८ करोड ३९ लाख

Halesi Khabar

खोटाङ, १० असार । रावाबेँसी गाउँपालिकाले रु ३८ करोड ३९ लाख २ हजार २३ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिका उपप्रमुख कौशिला गुरुङले आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकामा विभिन्न विषयगत शाखाका लागि प्राप्त सङ्घीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ रु १५ करोड २७ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ रु दुई करोड ३७ लाख विनियोजन गरिएको छ ।

यस्तै, प्रदेश सरकार सशर्त अनुदानतर्फ रु ६९ लाख २४ हजार, गाउँपालिका तथा सङ्घीय सरकारसँगको समपुरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतिका लागि रु एक करोड ५० लाख, सोही सडकका लागि प्रदेश सरकारसँगको समपूरक अनुदानबाट रु ७८ लाख र प्रदेश सरकारकै समपुरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतिका लागि रु ५२ लाख बजेट विनियोजन भएको छ ।

यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट विश्वज्योती मावि लामीडाँडाको होस्टेल निर्माणका लागि रु एक करोड ७० लाख, सङ्घीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।

वडागत पुँजीगत योजनाका लागि रु एक करोड ५० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्नेगरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ रु सात करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चका लागि रु छ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रमका लागि रु एक करोड खर्च हुने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाले ४५ वर्षमाथिका विधुर पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अघि सार्ने, पूर्णअपाङ्ग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ ।

तपाईको प्रतिक्रिया