मेयरमा आफ्नै उम्मेदवारलाई हराएको भन्दै कास्की एमालेले गर्याे कार्वाही

Halesi Khabar
0 Shares

पाेखरा, एमाले कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी तीन जना स्थानीय नेतालाई पार्टीको पद र संगठित सदस्यबाट निलम्बन गरेको जनाएको छ। निलम्बनमा पर्नेमा पोखरा–३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल, पोखरा–२१ का पार्टी संगठित सदस्य मनोज पहारी र पोखरा–३३ का पार्टी सदस्य प्रशान्त आचार्य रहेका छन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा एमालेबाट मेयरको उम्मेदवार कृष्ण थापालाई हराउन उनीहरूले भूमिका खेलेकाले निलम्बन गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए।

“स्थानीय तहको चुनावमा पार्टी उम्मेदवारलाई हराउन सार्वजनिक भएका भ्वाइस क्लिप र यसमा संलग्न व्यक्तिहरूसँग पार्टीका सम्बन्धित कमिटीले स्पष्टीकरण सोधी निजहरूका बारेमा पार्टी विधानको धारा ८० अनुसार अनुशासन उल्लंघन गरेको ठहर गरी धारा ८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढएका छौं,” विज्ञप्तिमा भनिएको छ।

निर्वाचन सकिएर मतदान भइरहेको समयमा एमाले कार्यकर्ताको अडियो सार्वजनिक भएको थियो। जसमा उनीहरूले नेकपा (एकीकृत समाजवादी) बाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यलाई सघाउन विपक्षी दलका कार्यकर्तासँग कुराकानी गरेको सुनिन्छ।

पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका आचार्य मेयरमा निर्वाचित भएका छन्। आचार्यले ५८ हजार ८५३ र एमाले उम्मेदवार थापाले ५२ हजार ८४८ मत पाएका थिए।

तपाईको प्रतिक्रिया