टोल टोलमा साकेला उँभौलीको रौनक

Halesi Khabar
0 Shares

खोटाङ, १० जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै पूर्वी पहाडी जिल्ला खोटाङमा किराँत समुदायको महान चाड साकेला (उँभौली)को रौनक छाएको छ । अहिले किराँत समुदायको बसोबास रहेको हरेक टोलमा ढोल÷झ्याम्टा र साकेला गीतले गाउँ नै गुञ्जयमान बनेको छ ।

‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उँभौली) मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला गीत गाउँदै गोलो घेरा बनाएर साकेला सिली नाच्ने गरिन्छ ।

घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै साकेला नाच्ने गरिन्छ । अहिले किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाहरु जमघट भएर ढोल÷झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला चाड मनाएको धुनले गाउँ नै गुञ्जयमान बनेको टाढाबाटै सुनिन्छ ।

साकेला चाड वर्षमा दुई पटक अर्थात अन्नबाली छर्ने बेला वैशाख पूर्णीमादेखि उँभौली र उठाउने बेला मङ्सिरे पूर्णीमादेखि उँधौली मनाउने गरिन्छ । उँभौलीको अवसरमा किराँत राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँहरुमा पूजाआजा गरिएसँगै महिना दिनसम्म मनाउने प्रचलन रहिआएको छ ।

जिल्लाको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा लगायतका धार्मीक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ । किराँती राईहरुको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा अहिले साकेला सिली प्रदर्शन गर्दै आपसमा शुभकामना आदानप्रदान गरेर उँभौली चाड मनाउने क्रम धुमधामका साथ चलिरहेको छ ।

छितको गुन्यु, मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराँती मौलिक भेषभुषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीहरु समेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला मनाइन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।

बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका युगशन किराँतले बताउनुभयो । “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला पर्वले किरात र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”

यसैबीच, उभौली चाडको अवसर पारेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा अहिले हरेक दिन साकेला सिली प्रदर्शन भइरहेको छ । उँभौली चाडको अवसर पारेर आफन्तजनसँग भेटघाट गर्नुका साथै शुभकामना आदान÷प्रदान गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको आयोजक किराँत राई यायोख्खाले जनाएको छ ।

उँभौली चाडको शुरुवाती दिन अर्थात जेठ–२ गते मझुवागढीबाट शुरु भएको साकेला सिली पदर्शनी तथा शुभकामना आदान÷प्रदान कार्यक्रम यहि जेठ २८ गते शनिबार औपचारिक रुपमा समापन गरिने आयोजकले जनाएको छ । दिक्तेलको माटीकोरे खेलमैदानमा आयोजना गरिने समापन कार्यक्रममा बृहत साकेला सिली प्रदर्शन गरिने जनाइएको छ ।

उँभौली चाड समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई निम्तो दिइएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा सहभागी अतिथिलिाई समेत साकेला सिली नाच्न लगाएर मनोरञ्जन दिलाइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया