धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

Halesi Khabar
0 Shares

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारहरुले शनिबार विमर्श गरेका हुन् ।

उँभोखोले साहित्यिक समाज खोटाङले आयोजना गरेको कृतिमाथिको विमर्श कार्यक्रममा टेम्केतुवाचुङ साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कवि भोगेन एक्लेले टिप्पणी गर्नुभएको छ । कविता सङ्ग्रहमा समावेश गरिएका शीर्ष कविता कचहरीदेखि कृतिभित्र रहेका विविध २३ वटा फरकफरक शीर्षकको कविताका बारेमा बोल्दै कवि ऐक्लेले समग्रमा कृति उत्कृष्ट रहेको बताउनुभयो ।

समसामयिक धारमा रहेको कविताहरुभित्र वर्तमान देशको अवस्थाको चित्रणदेखि आफ्नै गाउँठाउँको परिवेशलाई समेटिएको उहाँको भनाइ छ । उहाँले कतिपय कविता क्रान्तिकारी परिवेशले भरिएका भेटिएको र कतिपय कविता प्रेमिल विम्बहरुको सङ्गालोको रुपमा रहेको बताउनुभयो ।

धरान प्रज्ञा परिषद÷धरान उपमहानगर पालिकाद्धारा प्रकाशित पहिलो कृति ‘कचहरी’ मा २३ वटा कविता समेटिएका छन् । प्राध्यापक डाक्टर गोपाल भण्डारीको प्रमुख सम्पादकत्व र गोपाल देवानको सम्पादनमा प्रकाशित कविता सङ्ग्रह ८४ पृष्ठमा समेटिएको छ ।

कविहरुले जे बोलिन्छ या जे लेखिन्छ त्यसमा ईमान्दार हुनुपर्ने बताउँदै कविको ‘हस्तरेखा’ कविताले कविको चेतना उजागर गरेको उहाँको तर्क छ । यस्तै उहाँले सङ्ग्रहमा प्रयोग भएका विम्बहरु दोहोरिनुले अलिक विरसिलो जस्तो लागेपनि यसको मिठास पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले धरान प्रज्ञा प्रतिष्ठानको पहिलो प्रकाशनमै खोटाङे कविको सङ्ग्रह छापिन पाउनु सुखद रहेको बताउनुभयो । यस्तै जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले कवि राईको कृति उत्कृष्ट रहेको बताउँदै आगामि दिनमा लेखन कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कविता सङ्ग्रहका सर्जक कवि धनचन्द्रले आफ्नो रचना प्रकाशनको अवसर प्रदान गरेको धरान प्रज्ञा प्रतिष्ठान प्रति धन्यवाद व्यक्त गर्दै कृतिमाथि समीक्षा गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, कविहरु चित्रकुमार सुवेदी, सुशिला निनाम, अनिला राई, धनिराम राई, दीपेन्द्र दाहाल, प्रमोद श्रेष्ठ, भीम राई, द राजहरी किराँत लगायतले आफ्नो रचना सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया