खोटाङ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले स्ववियु निर्वाचनको नमूना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल गराउन सरकारलाई दबाब दिने उद्देश्यका साथ अनेरास्ववियु खोटाङले सोमबार दिक्तेल बहुमुखी क्याम्पसमा नमूना मतदान गरेको हो ।
नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा र ४७ मत बिपक्षमा खसेको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन सङ्ग्रामले बताउनुभयो । “लामो समयदेखि त्रिभुवन विश्व विद्यालय र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन गराउन दबाब स्वरुप नमूना मतदान गरिएको हो ।”
नमूना मतदानमा १३ मत बदर भएको अनेरास्ववियुले जनाएको छ । बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र सङ्घीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमासमेत नमूना मतदानको आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।
क्याम्पसहरुमा लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थीले विभिन्न अप्ठ्याराहरु खेप्नु परिरहेको अनेरास्ववियु खोटाङले जनाएको छ । विद्यार्थीले क्याम्पसहरुमा स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्याङ्क निकालेर त्रिवि र अन्य निकायमा पठाउनसमेत मत सर्वेक्षण गरिएको अध्यक्ष सङ्ग्रामले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा सातवटा क्याम्पस सञ्चालनमा छन् । जिल्लामा सञ्चालित क्याम्पसहरुमा करीब दुई हजार ५०० को हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका समाचार स्रोतले जनाएको छ ।


