राष्ट्रव्यापी कविता प्रतियोगितामा खोटाङका तेजकुमार राई प्रथम

Halesi Khabar
0 Shares

खोटाङ, ७ फागुन । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा खोटाङका तेजकुमार राई प्रथम हुनुभएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानी काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रव्यापी कविता प्रतियोगिता–२०७८’मा खोटाङका युवा कवि राई प्रथम हुनुभएको हो ।

‘भित्र्याउनु छ घरभित्र सह’ शीर्षकको कविता लेखेर प्रथम हुनुभएका राईले नगद रु ५० हजारको साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा बैतडीका बासुदेव पाण्डे ‘प्रभाकर’ले लेख्नुभएको ‘पहिचान र लोकतन्त्र’ शीर्षकको कविता द्धितीय र ताप्लेजुङकी सविता बरालले लेख्नुभएको ‘ढोका उघारैँ अब’ शीर्षकको कविता तृतीय भएको आयेजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा द्धितीय र तृतीय हुने कवि तथा कवयत्रीले क्रमशः नगद रु रु ४० हजार र रु ३० हजारको साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । देशभरका २६५ जना कवि तथा कवयत्री सहभागी राष्ट्रव्यापी कविता प्रतियोगितामा खोटाङका २० वर्षीय युवा कवि राई प्रथम हुनुभएको हो ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा वि.सं. २०५८ साउन २९ गते जन्मनुभएका राई यसअघि ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा तृतीय हुनुभएको थियो । आमा धनकुमारी र बुबा लोहाबीर राईको कोषबाट जन्मनुभएका कवि राई हेराल्ड इन्टरनेशनल कलेज बसुन्धरा काठमाडौँमा व्यवस्थापन शङ्काय अन्तरगत स्नातक तहको पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

दिक्तेलस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कूलबाट वि.सं. २०७५ सालमा एसइई उत्तीर्ण गर्नुभएका कवि राई वि.सं. २०७४ सालमा ‘खोटाङ आईडल’ बन्नुभएको थियो । गीत÷सँगीत र साहित्यिक क्षेत्रमा रुचि राख्नुहुने कवि राईले आफ्नै स्वरमा चारवटा गीत रेकर्ड गराएर बजारमा ल्याइसक्नुभएको छ ।

विद्यालयस्तरमा अध्ययन गर्दा विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कविता तथा साहित्यिक कार्यक्रम लगायतमा प्रथम हुनुहुने कवि राई वि.सं. २०६७ सालमा आयोजित जिल्लाव्यापी गायन प्रतियोगितामा सान्त्वना हुनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग खोटाङले आयोजना गरेको जिल्लाव्यापी गायन प्रतियोगितामा कवि राईले आफ्नै शब्द र सँगीत रहेको ‘हामी जस्तै हुन मन छ, उनीहरुलाई दिऔँ साथ !’ बोलको गीत गाउनुभएको थियो ।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मनुभएका राईलाई माउन्ट एभरेष्ट बोर्डिङ स्कूलले कक्षा–१० सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाएको थियो । सानै उमेरमा साहित्य र कलाकारिताका क्षेत्रमा प्रवेश गर्नुभएका राईलाई छात्रवृत्तिस्वरुप निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलका तत्कालीन प्रधानाध्यापक सागर जोशीले जानकारी दिनुभएको छ ।

राट्रव्यापी कविता प्रतियोगितासँगै आयोजना गरिएको निबन्ध प्रतियोगितातर्फ तनहुँका गोविन्दगोपाल खतिवडा प्रथम; तेह्रथुमकी रेजिना आपगाईं द्धितीय र काठमाडौँका गणेश दङ्गाल तृतीय हुनुभएको जनाइएको छ । उत्कृष्ट भएका निबन्धहरुमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय भएको जनाइएको छ ।

निबन्धतर्फको प्रतियोगितामा देशभरका ६७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने निबन्धकारहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया