खोटाङ, ५ फागुन । आगामी वैशाख ३० गते देशभर एकैसाथ हुने भनिएको स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४४ हजार ४७४ जनाले मतदान गर्न पाउने भएका छन् । वि.सं. २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख २५ हजार १७८ जनामात्र मतदाता रहेका थिए ।
त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानबाट १९ हजार २९६ जना नयाँ मतदाता थपिएका छन् । जिल्लाका कुल मतदातामध्ये पुरुष मतदाताको सङ्ख्या ७५ हजार ४७८ र महिला मतदाताको सङ्ख्या ६९ हजार २६ जना रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।
यद्यपि, निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म अहिलेको तथ्याङ्कमा केही घटबढ हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै यो वर्षको साउनयता जिल्ला बाहिरका २४५ पुरुष र २७८ महिलागरी ५२३ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ५९९ जना र सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ५९३ जना मतदाता रहेका छन् । हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ८५०, खोटेहाङमा १५ हजार ३४३, दिप्रुङ चुइचुम्मामा १३ हजार ६४७, ऐसेलुखर्कमा ११ हजार ४४१, केपिलासढीमा दश हजार ८५५, जन्तेढुङ्गामा दश हजार २३८, रावाबेँसीमा नौँ हजार ५६३ र बराहपोखरी गाउँपालिकामा नौँ हजार ३४५ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा स्वतःस्फूर्त फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका थिए । जिल्लास्थित कतिपय राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोबारवाला निकाय लगायतले पनि फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन जिल्लाबासीलाई आव्हान गरेका थिए ।
फोटोसहितको मतदाता नामावली दर्ता गराउन जिल्लाका कतिपय नेताहरुले स्थानीय बासिन्दालाई गाडी नै रिजर्भ गरेर जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयमा ल्याएका थिए । नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जीत हात पार्न कार्यकर्ता तथा स्थानीय बासिन्दालाई अहिलेदेखि नै संरक्षण गर्न थालेका छन् ।


