साकेलामा वाईसिएल नेपालको पालिकास्तरीय कार्यलय स्थापना

Halesi Khabar

खोटाङ, २ फागुन । साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको पालिकास्तरीय कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा २७ औँ जनयुद्ध दिवसको अवसर पारेर वाईसिएल नेपालको पालिकास्तरीय कार्यालय स्थापना गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) साकेला गाउँपालिका समितिले आयोजना गरेको जनयुद्ध दिवसका प्रमुख अतिथि माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवम् साकेला गाउँपालिका इन्चार्ज अर्जुनकुमार खड्का ‘झङ्कार’ले कार्यालय उद्घाटन गर्नुभएको वाईसिएल नेपालका प्रदेश सदस्य एवम् साकेला गाउँपालिका इन्चार्ज प्रभात राईले जानकारी दिनुभयो । माओवादी केन्द्रका प्रदेश समिति सदस्य बृसिका राईको समेत उपस्थिति रहेको कार्यक्रममा गाउँपालिकास्तरीय नेता तथा कार्यकर्ता, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतिका पदाधिकारी लगायत ११७ जनाको उपस्थिति रहेको थियो ।

वडा नं. ४ मानेभञ्ज्याङमा स्थापना गरिएको कार्यालयमार्फत सङ्गठनका साथै मूल पार्टीको गतिविधि सञ्चालन गरिने वाईसिएल नेपालले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै साकेला गाउँपालिकामा वाईसिएल नेपालको राजनीतिक गतिविधि बढेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया