एक नं. प्रदेशमा खोटाङका दुई मन्त्री : जिल्लाबासीमा खुशीयाली

Halesi Khabar

खोटाङ, २४ माघ । प्रदेश सरकार १ नं. प्रदेशमा खोटाङका दुई नेता एकैसाथ मन्त्री बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट राकमुमार राई ‘पासाङ’ खानेपानी, सिचाइँ तथा जलश्रोतमन्त्री र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजन राई सामाजिक विकासमन्त्री बन्नुभएको हो ।

खोटाङका दुवै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य १ नं. प्रदेशको मन्त्री हुनुभएपछि जिल्लाबासी हर्षित छन् । वि.सं. २०७४ सालमा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा खोटाङ क्षेत्र नं. १ (क)बाट राई र २ (ख)बाट पासाङ विजयी हुनुभएको हो ।

दुवै प्रदेशसभा सदस्य मन्त्री भएपछि जिल्लाको समग्र विकासमा उनीहरुको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ । एक नं. प्रदेशको महत्पूर्ण दुई मन्त्रालयको जिम्मेवारी खोटाङका दुई मन्त्रीले पाएपछि अहिले समाजिक सञ्जालमा बधाई दिने तथा कार्य सफलताको शुभकामना दिनेक्रम जारी छ ।

मुख्यमन्त्री राजेन्द्र राईले आईतबार खोटाङका दुईसहित आठजना थप गरेर १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो । मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाउनुभएका हो ।

वि.सं. २०२५ वैशाख १४ गते बुबा बर्मध्वज र आमा डिगमायाँ राईको कोखबाट साकेला गाउँपालिका–२ रतन्छामा जन्मनुभएका मन्त्री पासाङ २०३९ सालदेखि विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो । मन्त्री पासाङ तत्कालीन नेकपा (माले)को विद्यार्थी सङ्गठनमा आवद्ध भएको समयमा वि.सं. २०४५ सालमा पञ्चालयविरुद्धको आन्दोलनमा २३ दिन प्रहरी हिरासत बस्नुभएको थियो ।

वि.सं. २०४५ सालमा एसएलसी उत्तिर्ण गर्नुभएका मन्त्री पासाङ वि.सं. २०४६ सालमा बहुदल आएपछि वि.सं. २०५० सालदेखि खम्बुवान राष्ट्रिय मोर्चामा आवद्ध हुनुभएको थियो । मानविकी शङ्कायमा आइएसम्म अध्ययन गर्नुभएका मन्त्री पासाङ वि.सं. २०५४ साल साउन ७ गतेबाट भूमिगत हुनुभएको थियो ।

वि.सं. २०५५ सालमा तत्कालीन नेकपा माओवादीसँग खम्बुवान राष्ट्रिय मोर्चाको कार्यगत एकता भएको थियो । खम्बुवान राष्ट्रिय मोर्चा माओवादीसँग एकता भएपछि असन्तुष्ट बन्नुभएका मन्त्री पासाङ लगायतले किराँत जनवादी वर्ककर्स पार्टी खोलेर राजनीतिक गतिविधि अगाडि बढाउनुभएको थियो ।

वि.सं. २०५८ सालमा मन्त्री पासाङ वर्कर्सको केन्द्रीय सदस्य हुनुभएको समयमा वि.सं. २०५९ मा माओवादीसँग पार्टी एकता भएको थियो । मन्त्री पासाङले माओवादीसँग पार्टी एकता भएपछि खोटाङ जिल्ला इन्चार्ज, जनकपुर–सगरमाथा ब्यूरो सदस्य, मेची–कोशी ब्यूरो सदस्य, सङ्खुवासभा जिल्ला इन्चार्ज, सोलु सल्लेरी ब्रिगेटको कमिसनार लगायतको भूमिका निर्वाह गर्नुभएको थियो ।

मन्त्री पासाङ माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि जिल्ला इन्चार्ज हुँदै वि.सं. २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो । वि.सं. २०६५ मा केन्द्रीय सदस्य हुनुभएका मन्त्री पासाङ खोटाङ र उदयपुरको जिल्ला ईन्चार्ज हुँदै वि.सं. २०७१ सालमा पार्टीको पोलिट ब्यूरो सदस्य हुनुभएको थियो ।

वि.सं. २०७४ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका मन्त्री पासाङ नेकपा (एमाले)सँग पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पार्टी विभाजनपछि अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज हुनुहुन्छ ।

उता, सामाजिक विकास मन्त्री राई वि.सं. २०४६ सालमा एसएलसी उत्तिर्ण गरेपछि सक्रिय राजनीतिमा आउनुभएको हो । वि.सं. २०२८ साल कातिक २५ गते बुबा रामशङ्कर र आमा मनशोभा राईको कोखबाट जेठो सन्तानका रुपमा केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मनुभएका मन्त्री राईले राजनीति शास्त्रमा स्नातक गर्नुभएको छ ।

अनेरास्ववियु एकताको पाँचौमा आवद्ध मन्त्री राई वि.सं. २०४६ सालमा पिपुल्स क्याम्पसको प्रारम्भिक सदस्य हुनुहुन्थ्यो । तत्कालीन स्ववियु निर्वाचनमा उपसभापति हुनुभएका मन्त्री राई नेकपा (एमाले) निकट अनेरास्ववियुको जिल्ला, अञ्चल र केन्द्रीय सदस्य तथा विद्यार्थी विशेष जिल्ला समिति सदस्य, पार्टी जिल्ला सचिवालय सदस्य, जिल्ला सचिव, केन्द्रीय सदस्यसमेत हुनुभएको थियो ।

वि.सं. २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य विजयी मन्त्री राई माओवादीसँग पार्टी एकतापछि केन्द्रीय हुनुभएको थियो । एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पोलिट ब्यूरो सदस्य हुनुभएका मन्त्री राई गीतकारसमेत हुनुहुन्छ ।

अञ्जु पन्तको स्वरमा सजिएको मन्त्री राईको शब्दमा तयार पारिएको ‘जीन्दगी यो फूलैफूलको जीवन हुँदैन’ बोलको गीत निक्कै चर्चामा छ । सालिन अनि भद्र स्वभावका मन्त्री राईको दर्जनौँ गीत चर्मामा छ ।

तपाईको प्रतिक्रिया