निर्वाचन समयमै गर्न राष्ट्रपतिको आग्रह

Halesi Khabar

काठमाडौं,१३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । ‘संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ ।

अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूणर् कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भन्नुभयो । जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताउनुभएको थियो ।

‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाले भन्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । ‘यो नियमित भेटघाट हो, खास विषयवस्तु केही थिएन,’ ढकालले भन्नुभयो ‘प्रधानमन्त्रीज्यू दिउँसो ३ बजे आउनुभएको थियो, करिब एक घण्टा कुराकानी भयो ।’

तपाईको प्रतिक्रिया