खोटाङ, १२ माघ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ बाट नेकपा (एमाले) का उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवारलाई हेमराज राईलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । उहाँ अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकतर्फ राष्ट्रिय सभा सदस्य बन्नु भएको हो ।
उहाँले ४ हजार ७ सय ३४ मतभार प्राप्त गर्नुभएको हो, भने गठबन्धनका राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय, मोरङले जनाएको छ ।
महिलातर्फ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार जयन्ती राई निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ६ सय ९२ मतभार प्राप्त गर्नुभएको हो ।
महिलातर्फ उम्मेदवार बन्नुभएकी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ र राप्रपाकी रञ्जु प्याकुरेलले १ सय २० मतभार प्राप्त गर्नुभएको हो ।


