ऐसेलुखर्कको प्रशासनिक भवनको ठेक्का रद्द, भवन निर्माणको काम अलपत्र

Halesi Khabar

खोटाङ, १५ पुस । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले गुणस्तरहीन कामको नक्कली ल्याव रिपोर्ट (प्रतिवेदन) बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड बैभव जेभीका प्रतिनिधिले नक्कली ल्याव रिपोर्ट तयार पारेर पेश गरेको खुलेको थियो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र वा सोभन्दा माथिल्लो आधिकारिक सरकारी निकायबाट विज्ञ ल्याएर स्थलगत ल्याव परीक्षण गर्न मौका दिइए पनि गर्न नसकेपछि ठेक्का सम्झौता रद्द गरिएको हो ।

गाउँ कार्यपालिकाको आदेशमा भवनको ठेक्का रद्द गर्ने निर्णय भएसँगै धरौटीबापतको रु ३१ लाख जफत गर्ने र हालसम्म भुक्तानी लिएको करीब रु ६२ लाख रकम बराबरको बिगो दावी गर्ने प्रकृया थालिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताउनुभयो । “गाउँपालिकाको तर्फबाट रु तीन करोड ६९ लाख ८५ हजार ८७३ मा टेण्डर आव्हान गरिएको भए पनि सो निर्माण कम्पनीले मूल्य अभिबृद्धि करसहित रु दुई करोड ६८ लाख ४३ हजार ३४६ मा भवन निर्माण गर्ने ठेक्का लिएको थियो”, उहाँले भन्नुभयो, “तोकिएको मापदण्ड अनुसार काम नभएपछि उक्त कम्पनीसँग ठेक्का सम्झौता नै रद्द गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।”

निर्माणाधीन प्रशासनिक भवनको पहिलो ग्राउण्ड फ्लोर (भुइँतला)को पिलरको गुणस्तर परीक्षणका लागि स्याम्पल (कङ्क्रिट क्युव) सङ्कलन गरेर गत जेठ–२१ गते ल्याव परीक्षण गर्न गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पठाइएको थियो । सोको ल्याव रिपोर्ट फेल भएर आएपनि निर्माण व्यवसायीले पास भएको अर्को नक्कली ल्याव रिपोर्ट तयार पारेर गाउँपालिकामा बुझाएको थियो ।

नक्की ल्याव रिपोर्ट ‘भेरीफाई’ नभएसम्मका लागि भन्दै गाउँपालिकाले गत भदौ–१५ गते पत्राचार गर्दै निर्माण कम्पनीलाई काम रोक्न पत्राचार गरेको थियो । गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो तलाको स्ल्याब ढलान गरिसकेका थिए ।

ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरवाही गरेकाले गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानी लगायतका सम्पूर्ण प्रक्रिया रोकिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । “गाउँपालिकाले पत्राचार गरेपछि निर्माणाधीन प्रशासनिक भवनको सम्पूर्ण काम ठप्प छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग गरिएको सम्झौता रद्द गरिएपछि पुनः नयाँ पक्रियाबाट ठेक्का आव्हान गरेर बाँकी काम पुरा गर्ने तयारी भइरहेको छ ।”

निर्माण व्यवसायीले उपलब्ध गराएको प्रतिवेदनमा ल्याब इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ । त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएका छन् । जसका आधारमा गाउँपालिकाले शङ्का लागेर पुष्टि गर्न खोजेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् ।

वि.सं. २०७७ माघ–१९ गते निर्माण सम्पन्न गर्नुपर्ने सभाहलसहित १६ कोठा भएको तीनतले सुविधासम्पन्न निर्माणाधीन प्रशासनिक भवनको लागि सम्झौता भएको थियो । समयमा काम नसकिएपछि २०७८ असारसम्म म्याद थपिएको थियो ।

आरसिसी ढलानसहितको निर्माणाधीन प्रशासनिक भवनको पहिलो तला ढलान गरेर दोस्रो तलाका लागि तयारी गरिएको थियो । प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरवाही देखिएसँगै ठेक्का सम्झौता रद्द गरिएपछि निर्माणाधीन भवन अलपत्र बनेको छ ।

तपाईको प्रतिक्रिया