खोटाङ, चिसो बढेसँगै खोटाङको जन्तेढुंगा गाउँपालिकाले हप्ता दिनका लागि विद्यालय बन्द गरेको छ । वर्षासँगै उच्च लेकाली क्षेत्रमा चिसो बढेपछि गाउँपालिकाले १५ पुसदेखि २३ पुसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
चिसोले विद्यार्थी काम्दै विद्यालयमा बस्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए । हिउँदे बिदाबाट कटौती गर्नेगरी विद्यालय बन्द गरिएको हो । चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा विभिन्न समस्या आउने खतरालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायीक विद्यालय छन् ।
बुधबार बिहानदेखि जिल्लाको लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । हिमपातका कारण टेम्के, चखेवाभञ्ज्याङ, मैयूँ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, वाप्लुखाको मुलडाँडा लगायतका उचाई भएका डाँडाकाँडा सेताम्मे भएका छन् । चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिउँ पर्दा किसानलाई भने राहत मिलेको छ । हिउँपर्दा कतिपय स्थानीय भने रमाईलो गर्न डाँडामा पुग्ने गरेका छन् ।


