दिक्तेल शहरी खानेपानी आयोजनालाई सम्झौता कार्यान्वयन गर्न १५ दिनको समयसिमा

Halesi Khabar

खोटाङ, १३ पुस । दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिले सम्झौता बिपरित काम गरेको भन्दै खानेपानी समन्वय समिति सोल्माले तत्काल सच्चिन १५ दिनको समय दिएको छ । यसअघि दुई पक्षबीच भएको १२ बुँदे सम्झौता मङ्गलबारदेखि १५ दिनभित्र कार्यान्वयन नभएमा सम्पूर्ण सम्झौताहरु भङ्ग गर्दै खानेपानी आयोजनाका कामहरु बन्द गराउने चेतावनीसमेत दिएको छ ।

खानेपानी समन्वय समिति सोल्माले मङ्गलबार दिक्तेल बजारस्थित नछुङ होटलमा पत्रकार सम्मेलन गरेर उपभोक्ता समितिले सम्झौताका सम्पूर्ण शर्तहरुलाई बेवास्ता गरेको आरोप लगाएको छ । यसअघि पनि उपभोक्ता समितिले १२ बुँदे सम्झौता बिपरित जबरजस्त काम गरेको भन्दै गत भदौमा स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

भौतिक संरचना निर्माण गर्दा वा पाइपलाइन बिस्तार गर्दा सम्झौता बिपरित कार्यहरु गरिरहेको र केही व्यक्तिलाई प्रलोभनमा पारेर सम्झौता उल्लङ्घन गरिरहेको समन्वय समिति संयोजक धनिराम नछुङले बताउनुभयो । “प्राकृतिक प्रकोप र कृतिम संरचना निर्माणले खेतीयोग्य जमिन बाँझो हुने समस्यालाई रोकथाम गर्न पानीको मुहान संरक्षण गर्दै पानी दिने १२ बुँदे सम्झौता गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले एकैवटा पनि सम्झौता कार्यान्वयन भएको छैन । हामीले दिएको १५ दिनको समयसिमाभित्र सम्झौता कार्यान्वयन नभए क्रमशः मुहान बन्द गर्ने, भौतिक संरचानहरु तोडफोड गर्ने, माझखोला थुनेर बनाएको ड्याम भत्काउने काम गर्र्छाैँ ।”

रम्बा खोला, माझ खोला मुहान गरी खानेपानी आयोजना सञ्चालन गरिरहेको दिक्तेल शहरी खानेपानी उपभोक्ता समिति र खानेपानी समन्वय समिति सोल्माबीच सोल्मालाई विशेष संरक्षित वडा घोषणा गर्ने निर्णय भएको थियो । संरक्षित वडामा सिचाइँ पोखरी, कुलो तथा पाइप सिचाइँ लगायतका विशेष कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, वडाबासीको लागि एक घर, एक खानेपानी धारा उपलब्ध गराउने, निर्माणाधीन आयोजना सञ्चालनको दश प्रतिशत लागत रकमको डिपिआर तयार गरी योजना सञ्चालन गर्ने, मुहानबाट ७५ एमएमको एउटामात्र पाइप राखेर खोलाको बहाबलाई असर नपु¥याइ पानी लैजाने लगायतका १२ वटा बुँदामा सम्झौता भएको थियो ।

दुई पक्षीय सम्झौतामा भनिएका सबै कुराहरु एकैसाथ नभइ क्रमशः पूरा हुने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको छ । “मेरो रोहबरमा भएका कुराहरु लागू गराउन अहोरात्र लागिरहेको छु”, उहाँले भन्नुभयो, “धेरै कुराहरु एकै वर्षमा पूरा हुने हैन । कतिपय त आयोजना सम्पन्न भएर उपभोक्ता समितिले नगरलाई हस्तान्तरण गरेपछि पूरा गर्नुपर्ने धेरै कुराहरु छन् ।”

निर्माणाधीन अवस्थामा रहेको उक्त खानेपानी आयोजना अन्तरगत दिक्तेल बजार, आचार्यगाउँ र बाम्राङका एक हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउने योजना रहेको छ । करीब रु २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी शुरु गरिएको उक्त खानेपानी आयोजना अहिले घरघरमा वितरण गरिएका धारा तथा ट्याङ्कीमा पानी सञ्चालन गरेर परीक्षण भइरहेको छ ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पुरानो खानेपानी आयोजनाबाट करीब ८०० वटा धारा जडान गरिएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाको केन्द्र दिक्तेल बजारमा कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउने लगायतका समस्या वर्षौँदेखि रहेको उपभोक्ताको गुनासो छ ।

तपाईको प्रतिक्रिया