पेन टावर निर्माण सम्पन्न नहुँदै बगरे भञ्ज्याङमा पर्यटकको लर्को

Halesi Khabar

खोटाङ, ११ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा निर्माण शुरु गरिएको पेन टावर (कलम आकारको टावर) निर्माण सम्पन्न नहुँदै आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो पेन टावर निर्माणाधीन अवस्थामै अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो ।

समुद्री सहतबाट करीब एक हजार ८०० मिटर उचाइमा निर्माणाधीन छ तले पेन टावरमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको हेरालु डम्बर भुजेल बताउनुभयो । “निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार प्रयाप्त नभएपनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।”

निर्माणाधीन पेन टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौँ । जसले बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थित रुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।”

सङ्घीय सरकारको समपुरक कोष अन्तरगतको रु ७२ लाख लगानीमा निर्माणाधीन पेन टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्धारको काम बाँकी रहेको देखिन्छ । निर्माणाधीन पेन टावरबाट सर्वोच्च शिखर सगरमाथा लगायत उच्च हिमाली श्रृङ्खला तथा तराईका फाँटहरुको दृष्यावलोकन गर्न सकिन्छ ।

निर्माणाधीन पेन टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोजस्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणाधीन पिकनिक स्पोर्टसका लागि १ नं. प्रदेश सरकारको समपुरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ ।

निर्माणाधीन पेन टावर नजिकै त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर कृतिम तालसमेत निर्माण भइरहेको छ । ‘रुरु ताल’ भनेर नामाकरण गरिएको कृतिम तालका लागि नगरपालिकाको क्रमागत बजेट अन्तरगत यस वर्ष रु ५४ लाख लगानीमा काम शुरु गरिएको हो ।

तीन वर्षभित्र सम्पन्न गरिने तालको काम रु. दुई करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राई ‘एक्ले’ले बताउनुभयो । “करीब दश मिटर उचाईको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब सात मिटर गहिराईमा पानी जम्नेछ”, उहाँले भन्नुभयो, “निर्माणाधीन तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा गरिएको छ ।”

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन कृतिम ताल १८० मिटर लम्बाई र १५० मिटर चौडाईको हुने जनाइएको छ । निर्माणाधीन कृतिम तालमा पानीको अभाव भएमा आसपासका मुहानबाट ल्याएर लगाउने योजनासमेत बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

नगरपालिकाको क्रमागत योजना अन्तरगत यस आर्थिक वर्ष रु. ५४ लाख बजेटबाट काम शुरु गरिएको दिक्तेल–पाथेका सडक खण्डमा पर्ने बगरे भञ्ज्याङमा निर्माणाधीन पेन टावर, कृतिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । वर्षाद्को समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टहरुसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष एक्लेले बताउनुभयो ।

प्रवद्र्धनको पर्खाइमा रहेको पर्यटकीय क्षेत्र बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी समेत हर्षित भएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दुई घण्टा पैदल यात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम शुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुरेन्ट खोल्न जग्गासमेत खरिद गर्न थालेका छन् ।

मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको बगरे भञ्ज्याङ आसपास ठूला चउर, घाँसे मैदान तथा खर्कहरु रहेको छ ।

भौगालिक रुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायो लगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेली जस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ ।

बगरे भञ्ज्याङबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडा लगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिक रुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा वाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् ।

बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिालो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदल यात्राका लागि निर्धारण गरेको १०० वटा पदमार्ग अन्तरगत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृतिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली श्रृङ्खला अवलोकन गर्न सकिन्छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्कहरु तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।

तपाईको प्रतिक्रिया