खोटाङ, ४ मङ्सिर । नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लाको ७९ वडामध्ये शनिबार आयोजित वडा अधिवेशनमार्फत ६० वडामा नयाँ नेतृत्व चयन गरेको छ । माओवादी केन्द्र खोटाङले वडा अधिवेशन सम्पन्न गरिएका जिल्लाका ६० वटै वडामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।
जिल्लाका सबै वडामा शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने भनिएपनि सम्बन्धित वडाका नेता तथा कार्यकर्ताको आफन्तको मृत्यु, विवाह, छेवर (ब्रतबन्ध) लगायतका कारण १९ वडामा स्थगित गरिएको नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो । “शनिबार १९ वडाबाहेक अन्य सबैमा सर्वसहत नयाँ नेतृत्व चयन गरिएको छ”, उहाँले भन्नुभयो, “नेताहरुको आफन्तको मृत्यु, विवाह, छेवर लगायतका कारण स्थगित गरिएका बाँकी १९ वटै वडामा आगामी मङ्सिर–९ गतेभित्रै अधिवेशन सम्पन्न गरिनेछ ।”
नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षसहित हरेक वडामा २९ सदस्यीय वडा समिति चयन गरेको जनाइएको छ । अधिवेशन सम्पन्न भएका वडामा ३५ प्रतिशत महिला र दश प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरिएको संयोजक पृथ्वीले जानकारी दिनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लामा माओवादी केन्द्रका दुई हजार २९१ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउने छन् । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित मुलुकभर माओवादीको वडाअधिवेशन आयोजना गरिएको हो ।
माओवादी केन्द्रले देशभर शनिबार एकैसाथ आयोजना गरेको वडाअधिवेशनको अवसर पारेर जिल्लाका विभिन्न ठाउँबाट अन्य पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेशसमेत गराएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जनता समाजवादी पार्टी नेपालका वडाध्यक्ष वुद्धिराज राईसहित १४ जना र नेकपा एमालेका कमला बुढाथोकीसहित २३ जनालाई प्रवेश गराइएको युवा नेता एवम् वाईसिएलका केन्द्रीय सदस्य मिलनचन्द्र राईले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले यही मङ्सिर ११ गते पालिका, २५ गते प्रदेश तथा पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । माओवादी केन्द्र खोटाङमा पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो ।


