काँग्रेस खोटाङको क्षेत्रीय अधिवेशन : क्षेत्र नं. १ ‘क’मा राई र २ ‘ख’मा घिमिरे क्षेत्रीय सभापतिमा विजयी

Halesi Khabar

खोटाङ, ४ मङ्सिर । नेपाली काँग्रेस खोटाङको प्रदेश क्षेत्र नं. १ ‘क’को सभापतिमा राजेन्द्र राईको प्यानल (समूह) नै विजयी भएको छ । हलेसीमा शनिबार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार सभापतिका अर्का उम्मेदवार भक्तजङ्ग राईलाई ९२ मतले पछिपार्दै राजेन्द्र राईको प्यानल नै विजयी भएको हो ।

राजेन्द्रले ३७२ मत ल्याउँदा भक्तजङ्गले २८० मतमात्र ल्याएको निर्वाचन मण्डलले जानकारी दिएको छ । राजेन्द्रको प्यानलबाट उपसभापतिमा बालकुमार राई, मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल विजयी भएका छन् ।

राजेन्द्रलाई पूर्वपार्टी सभापति विष्णुकुमार राई, पूर्वमहासमिति सदस्य तथा पूर्वपार्टी सभापति सुवासकुमार पोखरेल र महासमिति सदस्य रविप्रकाश राई, क्षेत्रीय सभापति तथा हालको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईको समर्थन थियो । भक्तजङ्गलाई पूर्वराज्यमन्त्री सर्वधन राईको समूहले सघाएका थिए ।

यस्तै, काँग्रेस खोटाङ प्रदेश क्षेत्र नं. २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी हुनुभएको छ । सभापतिका अर्का उम्मेदवार चण्डीकुमार राईलाई ५६ मतले पछिपार्दै घिमिरे क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो ।

घिमिरेले ३३१ मत ल्याउँदा राईले २७५ मतमात्र ल्याएको निर्वाचन मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपसभापतिमा घिमिरे प्यानलबाट महेन्द्र राई र राईको प्यानलबाट रामचन्द्र केसी विजयी हुनुभएको छ ।

क्षेत्रीय सचिवमा घिमिरेको प्यानलबाट प्रविण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान विजयी भएका छन् । घिमिरेलाई पूर्वपार्टी सभापति विष्णुकुमार राई, पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य तथा पूर्वपार्टी सभापति सुवासकुमार पोखरेल, महासमिति सदस्य रविप्रकाश राई र क्षेत्रीय सभापति तीर्थराज भट्टराईको साथ रहेको थियो ।

चण्डीकुमारलाई महाधिवेशन प्रतिनिधि तथा हालको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले सघाउनुभएको थियो । काँग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरु सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् ।
जिल्ला सभापतिमा चारजना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई, सह–सचिव ध्यानबहादुर राईको नाम सार्वजनिक गरिएको छ । पूर्वसभापति विष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जराले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधि भूपेन्द्रको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्यामकुमार राई र सह–सचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सह–सचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीतिस्वरुप केही पद रिक्त राखिएको सचिवका उम्मेदवार श्यामकुमार राईले जानकारी दिनुभएको छ ।

उम्मेदवारी घोषणा गरेका नेताहरु आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र प्रतिनिधि तानातानमा लागेका छन् । जिल्ला अधिवेशनमा प्रदेश नं. १ ‘क’बाट ७०३ र २ ‘ख’बाट ७०३ गरि जम्मा एक हजार ४०६ जना प्रतिनिधि सहभागी हुने जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभएको छ ।

पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार रामचन्द्र पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र कृष्ण सिटौलासँग नजिक मानिन्छन् ।

 

तपाईको प्रतिक्रिया