बेनी, २२ कातिक । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका-५ पुलाचौरमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग-अलग ठाउँबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका तीनै जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिइएको प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक्लै सुतिरहेकी महिलालाई उक्त युवकहरुले धम्क्याउँदै पालै-पालो बलात्कार गरेको भन्ने पीडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।” उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो ।
सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरुकै उपस्थितिमा आर्थिक लेनदेनमा मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा कुनै असर नगर्ने प्रहरीले जनाएको छ ।
अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दबाब दिइएपनि जबर्जस्ती करणी भएको भनी दिएको जाहेरी र प्रहरीको अनुसन्धानका क्रममा पनि सोही बयान दोहोराएको प्रमाण र भौतिक परीक्षण प्रतिवेदनका आधारमा अदालतले बयान र कानूनलाई आधार मानेर फैसला गर्ने बताइएको छ ।


