नाछिरिङ समुदायको रिदुम खिम (मुन्धुम घर) काठमाडौँको गोकर्णेश्वरमा

Halesi Khabar

खोटाङ, १८ कातिक । किराँत राई समुदाय अन्तरगत पर्ने नाछिरिङ राईहरुको रिदुम खिम (मुन्धुम घर) काठमाडौँमा निर्माण गरिने भएको छ । काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सासमेत सार्वजनिक गरिएको छ ।

रु दुई करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साँढे तीन तले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास गरेर निर्माणको काम थाल्ने तयारी गरिएको किराँत रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताउनुभयो । “रिदुम खिम निर्माणका लागि हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङबाट रु २० लाख ३७ हजार र गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “किराँत नाछिरिङ राईको सामुदायिक हित, भाषा, सँस्कार, सँस्कृति, विकास, संरक्षण एवम् प्रर्वधनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो ।”

नाछिरिङ राई भाषाको कक्षा–३ को पाठ्यापुस्तक विमोचन कार्यक्रमको अवसर पारेर रिदुम खिमको थ्रिडि नक्सा सार्वजनिक गरिएको किराँत रदु नाछिरिङ साखामले जनाएको छ । सोही भवन निर्माणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट रु २० लाख सहयोगको प्रतिवद्धता जुटेको केन्द्रका अध्यक्ष सकलबहादुरले बताउनुभयो ।

देशविदेशमा छरिएर रहेका नाछिरिङ समुदाय तथा व्यक्तिबाट चन्दा एवम् सहयोग रकम जुटाएर दुई वर्षभित्र निर्माणको सम्पूर्ण काम पुरा गरेर रिदुम खिम सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ । रिदुम खिम निर्माणका लागि रु ७५ लाख ७५ हजारमा छ आना जग्गा खरिद गरिसकिएको केन्द्रका अध्यक्ष सकलबहादुरले जानकारी दिनुभएको छ ।

मुल घरको चुल्हामा मान्दै आइएको परम्परागत सँस्कार–सँस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वातावरण बनाउन रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखाम केन्द्रकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताउनुभयो । “रिदुम खिममा जन्म, मृत्यु, विवाह, छेवर लगायतका सँस्कार गर्दै नाछिरिङ राईको भाषिक, सँस्कार, सँस्कृतिको एकीकरण गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “रिदुम खिमले संसारभर छरिएर रहेका नाछिरिङ राईलाई सङ्गठित गर्नेसमेत अपेक्षा गरिएको छ ।”

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका तथा खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राई समुदायको सघन बस्ती रहेको छ । यस बाहेक सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको खोटाङमा क्रियाशील पत्रकार दमन नाछिरिङ राईले जानकारी दिनुभयो ।

वि.सं. २०६८ सालको जनगणना अनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्ने दश हजार ४१ जनामात्र जनसङ्ख्या रहेपनि २०७६ सालदेखि सोलुखुम्बू र खोटाङका पाँच÷पाँचवटा विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन शुरु गरिएको थियो । लोपोन्मुख बनेको नाछिरिङ भाषा, सँस्कृति, इतिहास लगायतको संरक्षण एवम् संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको साखामले जनाएको छ ।

उदयपुर जिल्लामा पनि नाछिरिङ भाषामा पठन–पठनको तयारी भइरहेको साखामका महासचिव गान्दीभ किराँतीले बताउनुभयो । स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठन शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया