खोटाङ १३, कातिक । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् अनुशासन आयोगका प्रमुख टंक राईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला खोटाङ आउनुभएको नेता राईले जनतालाई झण्भट र राज्यको खर्च जोगाउनपनि सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता राईले निर्वाचनको नाममा जनतालाई शास्ती र रोज्यको खर्च बढी गर्न नहुने तर्क राख्नुभयो । “देशमा तीनवटै तहको निर्वाचन गर्ने समय आएको छ ।”, उहाँले भन्नुभयो, “निर्वाचनमा जनतालाई हुने झन्झट कम गर्न र राज्यबाट हुने खर्च जोगाउन पनि सङ्घ, प्रदेश र स्थानीय तहगरी तीनवटै तहको निर्वाचन एउटै मिति र खर्चमा गर्नुपर्छ ।”
दिक्तेलस्थित सङ्गठनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले अहिलेको गठबन्धन सरकार नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भका कारण निर्माण भएको दाबी गर्नुभयो । “ओलीको विचार तथा बाटोलाई ध्वस्त नबनाएसम्म स्थिति उस्तै रहने अवस्था थियो”, उहाँले भन्नुभयो, “आसन्न तीनवटै तहको निर्वाचनमा वर्तमान गठबन्धनले एमालेको ओली समूहविरुद्ध मोर्चाबन्दी गरेर निर्वाचन लड्नेछ ।”
पूर्व सांसदसमेत रहनुभएका नेता राईले वर्तमान सरकार प्रतिगामी शक्तिहरुको विरुद्ध निर्माण भएको बताउनुहुँदै आगामी निर्वाचनसमेत यही सरकारले गर्ने दाबी गर्नुभयो । “आगामी निर्वाचनमा गठबन्धनबीच एउटै चुनाव चिन्हबाट चुनाव लड्नेगरी गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “चुनाव चिन्ह प्राविधिक विषय हो । आगामी निर्वाचनमा गठबन्धनमध्ये कुनै पनि एउटा राजनीतिक दलको चुनाव चिन्हमा मतदान गर्नेगरी एउटै चुनाव चिन्हमा सहमती हुन्छ ।”
जिल्लाको प्रशङ्गलाई उठाउनुहुँदै नेता राईले सबै निर्वाचनमा गठबन्धनभित्रका दलहरुले साझा सहमतिमा निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभयो । “आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गरेर निर्वाचन गर्न सकेमा खोटाङबाट एमालेका तर्फबाट उम्मेदवार बन्ने कुनै पनि उम्मेदवारले निर्वाचन जित्दैन”, उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका सबै दलका नेताहरुले यो राजनीतिक सन्तुलनमा रहेर विचार प्रवाह र साङ्गठानिक गतिविधिलाई अगाडि बढाउनुहोला ।”
दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनका नेताहरु पनि साझा कार्यक्रम बनाउन थालेका छन् । जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सक्रिय छन् ।


