जुवातास खेलीरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

Halesi Khabar

खोटाङ, ८ कातिक । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलीरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँचजना युवालाई प्रहरीले आज (सोमबार) पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय बसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । तासको खालबाटै रङ्गेहात पक्राउ परेका उनीहरुको साथबाट नगद रु ७१ हजार २० र एक बुङ ताससमेत बरामद गरिएको प्रनाउ लम्सालले जानकारी दिनुभएको छ ।

पक्राउ परेका पाँचै जना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुर अन्तरगत मुद्दा दर्ता गर्नुका साथै हिरासतमा राखेर कानूनी कारवाही शुरु गरिएको प्रहरीले जनाएको छ । जुवातास खेलीरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हीराधनको कोठाबाट उनीहरुलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा व्यवसायिक रुपमा जुवातास खेल्ने व्यक्तिहरुसमेत रहेको स्रोतले जनाएको छ । व्यवसायिक रुपमा जुवातास खेल्ने खेलाडीलाई प्रहरी प्रशासनको समेत संरक्षण रहेको समाचार स्रोतको दाबी छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाड लक्षित सुरक्षा सर्तकतालाई कडाइका साथ पालना गरेको छ । चाडबाडको समयमा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भिडभाड हुने स्थानहरुमा प्रहरी गस्ती टोली परिचालन गरेको छ ।

 

तपाईको प्रतिक्रिया