शान्तिको कामना गर्दै फेरी लगाउने जोगी समुदायको पेशा सङ्कटमा


खोटाङ, ८ कातिक। यतिबेला जिल्लाका हरेक स्थानीय बासिन्दाको घरघरमा पुगेर उनीहरुको शान्तिको कामनासहित जोगीले फेरी लगाइ रहेका छन् । जोगीले फेरी लगाएमा घरको रक्षा हुने र भूत÷प्रेत नआउने जनविश्वास रहीआएको छ ।

वर्षको दुई पटक उधौली र उभौली अर्थात कातिक र चैतमा जोगीले जिल्लाका हरेक स्थानीय बासिन्दाको घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेशालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् ।

फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यू लगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातको समयमा फेरी लगाउँदै गाउँ, शहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लाबासीमा जनविश्वास छ । बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लाबासीको शान्तिको कामनासहित फेरी लगाउने पेशामा सक्रिय रहनुभएको छ ।

तीर्थबहादुरको दुई छोराहरु पनि यही पेशा अर्थात फेरी लगाउने काम गर्छन् । उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन् ।

तीर्थबहादुर बाउछोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेशामै आवद्ध रहेका छन् । बतासेमा १९ घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास रहेको छ ।

बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन् । तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शंकर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन् ।

फेरी लगाउन जोगी समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन् । आफ्नो वङ्शले गर्दै आएको क्षेत्रमा सोही वङ्शका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले बताउनुभयो । “वि.सं. २००७ सालदेखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ ।”

फेरी लगाएमा घरको रक्षा हुने, भूतपिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताउनुभएको छ । “धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौँदेखि हामीले निरन्तरता दिदै आएपनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवद्र्धनको काम भएको छैन”, उहाँले भन्नुभयो, “युवा पुस्ताले भने फेरी लगाउने पेशामा त्यति धेरै चासो देखाएका छैनन् । यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।”

युवा पुस्ताले चासो नदेखाएका कारण आफूहरुको शेखापछि यो परम्परालाई कसले निरन्तरता देला भन्ने बतासेका जोगी समुदायका पूर्खाहरुलाई चिन्ता बढेको देखिएको छ । पछिल्लो समय युवा पुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेशा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ ।

 दिक्तेल बजारमा फेरी लगाएर भिक्षा थापेपछि गन्तव्यतर्फ जाँदै गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ३१ वर्षीय धनकुमार जोगी । पछिल्लो समय प्रत्येक गाउँमा पुगेर घरघर डुल्दै फेरी लगाउने प्रचलन हराउँदै गएको छ ।

वैदेशिक रोजगारीका कारण युवा पुस्ता विदेशिनेक्रम बढेसँगै फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगी समुदायको पुख्र्यौली पेशा सङ्कटमा पर्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । “बतासेका जोगी समुदायलाई राज्यको तर्फबाट अहिलेसम्म केही गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिले बतासेका नौँ भाइ युवा विदेशमा छन् । फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि विदेशिने सम्भावना बढेको छ ।”

जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रुपमा एक पटक फेरी लगाएर हिड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै ३१ वर्षीय धनकुमार जोगीले बताउनुभयो । “हाम्रो पुर्खौली पेशा भनेकै ‘फेरी’ लगाउने हो”, उहाँले भन्नुभयो, “आफ्नो परम्परादेखि चल्दै आएको पुर्खौली पेशालाई संरक्षण गर्नकै लागि भएपनि हरेक वर्षको दुई पटक गाउँगाउँमा पुगेर फेरी लगाउने गरेको छु ।”

फेरी लगाउने जोगीले एक पल्ट अर्थात कातिक तथा चैत एक महिनामा रु एक लाखसम्म नगद तथा खाद्य सामग्री सङ्कलन गर्ने गरेका छन् । रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरुमा चिसोले सताउने र रुघाखोकी जस्ता रोगसमेत देखिने गरेको छ ।

फेरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ तर, फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेशा नै सङ्कटमा पर्ने सम्भावना बढेको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो । “फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेशालाई संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ ।”

राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन् । फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाइ सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन् ।

जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षा अर्थात दान÷दक्षिणासमेत लिँदैनन् । धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले जानकारी दिनुभयो ।

फेरी लगाउने जोगीले दशवटा झोली बोक्ने गरेका छन् । बाह्रपन्थे जोगीको १२ वटा झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दशवटामात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोबास रहेको छ । बतासे बाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेशा छाडी सकेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया