खोटाङ, ७ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ । दशैँ÷तिहारको अवसर पारेर जिल्ला भित्रिने नागरिकले प्रशासनिक कामसमेत सम्पन्न गरेर फर्कने भएपछि सेवाग्राहीको चाप बढेको हो ।
प्रशासनमा नेपाली नागरिकताको परिचयपत्र बनाउने, राहदानीको सिफारिस लिने, राष्ट्रिय परिचयपत्र बनाउने तथा मतदाता नामावली सङ्कलन गराउने लगायतका सेवाग्रही दैनिक २५० बढी प्रशासन आउने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “दशैँ सकिएलगत्तै प्रशासनमा सेवाग्राहीको चाप अत्यधिक बढेको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीको चाप धान्नै नसक्ने भए पनि आवश्यक कागजात पेश गर्ने सेवाग्राहीको काम सोही दिन सम्पन्न गरिदिने गरिएको छ ।”
वैदेशिक रोजगारीमा जाने युवादेखि देशभित्रकै काठमाडौँ लगायतका शहरहरुबाट जिल्लामा नागरिक भित्रिएका छन् । दशैँ सकिए लगत्तै जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरकारी कार्यालयहरुमा समेत तुलनात्मक रुपले सेवाग्राहीको भीड बढेको पाइएको छ ।
जिल्लाको दुई इलाका प्रशासन कार्यालयमा समेत सेवाग्रहीको सङ्ख्या अत्यधिक रहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा खोटाङबजार र ऐसेलुखर्कमा इलाका प्रशासन कार्यालय सञ्चालित छन् ।
यसैबीच, जिल्लामा नागरिकको चाप बढेसँगै सुरक्षा सतर्कता उच्च पारिएको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ शर्माले बताउनुभयो । जिल्ला प्रवेश गर्ने हरेक नाकाहरुमा जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको गरिएको छ ।
रातको समयमा हुन सक्ने आपाराधिक क्रियाकलाप न्यूनिकरण गर्न जिल्लामा चौबीसै घण्टा प्रहरीको गस्ती टोलीसमेत परिचालन गरिएको प्रजिअ शर्माले बताउनुभयो । चाडबाडको समयमा सबैभन्दा बढी मादक पदार्थ सेवनबाट झैझगडा हुने भएकाले मादक पदार्थ बेचबिखनमा समेत कडाइ गरिएको जनाइएको छ ।


