दिक्तेलमा कुकुर आतङ्क : कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते


खोटाङ, ६ कातिक । पहिचान नभएका कुकुरको टोकाइबाट दिक्तेल बजारमा एकै दिन १५ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारका विभिन्न ठाउँमा शनिबार एकै दिन पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट १५ जना घाइते भएका हुन् ।

पहिचान हुन नसकेको भुस्याहा कुकुरले मान्छेलाई टोकेर भागेपछि दिक्तेल बजारमा अहिले त्रास फैलिएको छ । दिक्तेल बजारको रत्नपार्क, हाटडाँडा, अस्पताल चोकलगायतका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई शनिबार फरक-फरक समयमा भुस्याहा कुकुरले टोकेको जनाइएको छ ।

कुकुरले टोकेपछि घाइते बनेका स्यानीय बासिन्दालाई जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर आ-आफ्नो घर पठाइएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिनुभयो । कुकुरको टोकाइबाट घाइते बनेका उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा यसअघिदेखि नै भुस्याहा कुकुरको बिगबिगी रहेको थियो । दिक्तेल बजारमा करीब दुई वर्षअघि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपनि चौतर्फी विरोध भएकाले स्थगित गरिएको थियो ।

भुस्याहा कुकुरको बिगबिगीका कारण अहिले दिक्तेल बजारमा रातको समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल बजारको विभिन्न चोकमा हुल बाँधेर हिँड्ने भुस्याहा कुकुरको समूहले रातको समयमा यात्रा गर्ने मान्छेलाई बाटो छेकेर आक्रमण गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दिक्तेल बजारमा फैलिएको भुस्याहा कुकुर नियन्त्रणमा समयमै सबन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । दिक्तेल बजारमा फैलिएको भुस्याहा कुकुरको आतङ्क नियन्त्रण गर्न समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुन सक्ने नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले बताउनुभयो ।

उता, ऐसेलुखर्क गाउँपालिका-मा समेत भुस्याहा कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले बताएका छन् । ऐसेलुखर्कमा फैलिएको भुस्याहा कुकुर नियन्त्रणमा हालसम्म कसैको ध्यान नगएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया