खोटाङ, ३ कातिक । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराँती राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको पार्क (उद्यान) निर्माणको काम शुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो किराँती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम शुरु गरिएको हो ।
माझ किराँत भनेर चिनिने खोटाङको बुइपामा निर्माण शुरु गरिएको यलम्बरको शालिकसहितको पार्क बुधबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले किराँती परम्परा अनुसार शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहने उक्त यलम्बर पार्क निर्माणको काम करीब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।
गत वर्ष नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट निर्माण शुरु गरिएको यलम्बरपार्क निर्माणको जिम्मा यस वर्ष ठेक्कामार्फत रु दश करोड दश लाखमा उमा–तुवाचुङ–अनसुवी जेभीले लिएको छ । अठार महिनाभित्र निर्माणको काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको यलम्बरपार्कका लागि आवश्यक निर्माण सामग्री तथा दक्ष जनशक्ति झिकाएर निर्माणको काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल राईले बताउनुभयो ।
किराँत समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराँती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको पार्क निर्माण शुरु गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “यलम्बर पार्क निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नम्बर–१ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिइनेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “यलम्बर पार्कमा अन्य ठाउँमा निर्माण गरिएका आधुनिक पार्कमा हुने सबै सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राख्ने तयारी गरेका छौँ । त्यो धलौटको हुनेछ ।”
गत वर्ष नगरपालिकाबाट विनियोजन भएको बजेटबाट प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । किराँती ऐतिहासिकस्थल बुइपामा बन्ने यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।
आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयबासी समेत हर्षित भएका छन् । किराँत ऐतिहासिकस्थल बुइपामा यलम्बरको विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण शुरु भएपछि पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।
चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण शुरु गरिएको यलम्बरको शालिकसहितको पार्कको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश नम्बर–१ मा जम्मा हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माणाधीन यलम्बर पार्कलाई नगरपालिकाले गौरवको आयोजना अन्तरगत राखेको छ ।
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्न समेत सहज हुने जनाइएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
यलम्बरपार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बरपार्कलाई महत्वका साथ हेरिएको छ ।


