खोटाङ, २० असोज । ६६ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको विभिन्न कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले आफ्नो संस्थाको स्थापना दिवसको अवसर पारेर पुस्तकालय स्थापना, कार्यालय परिसरमा वृक्षारोपण, जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता, अमर शहीद परिवार तथा जग्गादातालाई सम्मान र वर्ष उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरेको छ ।
प्रहरीले कार्यालयमा स्थापना गरेको ‘हिरासत पुस्तकालय’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले प्रहरी दिवसको अवसर पारेर बुधबार औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । जिल्ला तथा जिल्ला बाहिरका विभिन्न संस्था तथा व्यक्तिले स्वैच्छिक रुपमा निःशुल्क प्रदान गरेको पुस्तक सङ्कलन गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा हिरासत पुस्तकालय स्थापना गरेको हो ।
पक्राउ परेर हिरासतमा रहेकाहरुलाई पुस्तक पढेर कानूनी ज्ञान आर्जन गराउनका साथै आगामी दिनमा आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत गराउन हिरासत पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायक उपरीक्षक उमेश लम्सालले बताउनुभयो । “शिक्षा अभावकै कारण अधिकांश मानिसले आपराधिक क्रियाकलाप गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “आपराधिक क्रियाकलापमा सङ्लग्न भएकाहरु पनि हिरासतमा रहेको अवस्थामा पुस्तक अध्ययन गरेर सचेत बनोस भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।”

प्रहरी दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालय खोटाङको कार्यालय परिसरमा विभिन्न प्रजातिको फलफूलका बिरुवासमेत रोपिएको छ । जिल्लाका दशवटै स्थानीय तहको नाम लेखेर स्वयम् स्थानीय तहका प्रमुख अतिथिको रुपमा कार्यक्रममा निमन्त्रणा गरेर कार्यालय परिसरमा वृक्षारोपण गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।
स्थानीय तहका नाममा रोपिएका विभिन्न प्रजातिका फलफूलका बिरुवाको हेरचाह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीले नै हेरचाह गर्ने जनाइएको छ । प्रहरी सबैको साझा संस्था देखाउन जिल्लास्थित सबै स्थानीय तहको नाममा जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न प्रजातिका लफफूलको बिरुवा रोपिएको हो ।
तीन दिनसम्म मनाइको ६६ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले जिल्लास्तरीय खुला एकल, खुला डबल र भेट्रान डबल व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जिल्लास्तरीय एकल ब्याडमिन्टन प्रतियोगितामा सविन श्रेष्ठ पहिलो, एलिस दंगाल दोस्रो, अविन राई र सनम राई तेस्रो हुनुभएको छ ।
दिक्तेलस्थित उद्देश्यीय कर्वडहलमा आयोजित खुला डबलतर्फ दीपक खत्री र कल्पना राई (जोशी)को समूह पहिलो, विनोद उदास र सविन श्रेष्ठको समूह दोस्रो, विकास खत्री र विपिन योगी तथा एलिस दंगाल र ममता राईको समूह तेस्रो भएका छन् । भेट्रान डबलमा राजु श्रेष्ठ र जय राईको समूह पहिलो, कल्पना राई (जोशी) र हरि राईको समूह दोस्रो, भोजबहादुर मगर र प्रकाश राई तथा भक्त कालिकोटे र केशव थापाको समूह तेस्रो भएको प्रहरीले जनाएको छ ।
ब्याडमिन्टन प्रतियोगितामा विजेता खेलाडीलाई बुधबार आयोजित समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको प्रहरीले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा अमर शहीद तथा जग्गादातालाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष बबि चाम्लिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले संयुक्त रुपमा सम्मानपत्रसहित दोसल्ल ओढाएर सम्मान गर्नुभएको हो ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सागर साह वर्ष उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक साहलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।
वर्षदिन अघिदेखि जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी निरीक्षक साहले उत्कृष्ट कार्यसम्पादन गर्नुभएका पुरस्कृत गरिएको प्रहरी प्रमुख प्रनाउ लम्सालले बताउनुभयो । प्रहरी निरीक्षक साहसँगै मातहतका प्रहरी अधिकारी तथा जवानलाई समेत विभिन्न विद्याका सम्मान तथा पुरस्कार प्रदान गरिएको कार्यालयले जनाएको छ ।


