दसैँमा घर फर्कने सैनिक परिवारले निःशुल्क गाडी र हेलिकोप्टर चढ्न पाउने

Halesi Khabar

काठमाडौँ, २० असोज । दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । तर, नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि निःशुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।

सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिइएको जनाइएको छ । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गर्नुभएको थियो ।

नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताउनुभयो ।

यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उहाँले बताउनुभयो । जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ ।

अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।

तपाईको प्रतिक्रिया