खोटाङका दशजना जेष्ठ नागरिक सम्मानित, दिक्तेलका कविराज बने ‘कोभिड हिरो’

Halesi Khabar

–राजन ठटाल
खोटाङ, १६ असोज । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा खोटाङका दशजना जेष्ठ नागरिक सम्मानित भएका छन् । जेष्ठ नागरिक सङ्घ खोटाङले दिवसको अवसर पारेर भीमबहादुर कार्की, कर्णबहादुर बजिमय, ज्ञानबहादुर विश्वकर्मा, मुसुरीमायाँ आचार्य, सरस्वती खड्का, देवमायाँ आचार्य, पन्नामायाँ कार्की, कोपिला कार्की, कर्णबहादुर कटवाल र कुलबहादुर कटवाललाई सम्मान गरेको हो ।

जेष्ठ नागरिक सङ्घका आजिवन सदस्य बनेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर जनही रु ५०० का दरले रकमसमेत प्रदान गरिएको सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साल लगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको ज्येष्ठ नागरिक सङ्घले जनाएको छ । ज्येष्ठ नागरिक जिल्ला सङ्घले आयोजना गरेको कार्यक्रमलाई राजनीतिक दलले भने उपेक्षा गरेको ज्येष्ठ नागरिक सङ्घले आरोप लगाएको छ ।

भोट बैङ्कका रुपमा उपयोग भइरहेका ज्येष्ठ नागरिकले आयोजना गरेको कार्यक्रममा काँग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि मात्र उपस्थित भएका छन् । ज्येष्ठ नागरिक, महिला, दलित लगायतको कार्यक्रमलाई सँधैजसो राजनीतिक दलले उपेक्षा गर्ने गरेको सङ्घले जनाएको छ ।

यसैबीच, जिल्लामा कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यानको बाजी लगाएर उद्दार तथा सहयोगमा खटिएका जनप्रतिनिधिसहित दुईजनालाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठ र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाएका युवा कविराज रिजाललाई गैंरसरकारी संस्था महासङ्घले सम्मान गरेको हो ।

कोभिडविरुद्ध ज्यानको बाजी थापेर उद्दारमा खटिनुभएका वडा सदस्य श्रेष्ठ र युवा अभियान्ता रिजाललाई ४२ औँ सामाजिक सेवा दिवसको अवसर पारेर सम्मान गरिएको महासङ्घले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, गैसस महासङ्घका संस्थापक अध्यक्ष एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले ‘कोभिड हिरो’हरुलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडाका ६० जना वडा सदस्यमध्येबाट श्रेष्ठलाई सम्मान गरिएको हो भने, रिजाललाई कोभिडको माहामारीको बेलामा नियन्त्रण तथा उद्दारमा खटिएकाले सम्मान गरिएको गैर–सरकारी संस्था महासङ्घ सचिव युवराज रिजालले बताउनुभयो ।

सोही कार्यक्रममा निजामती कर्मचारीबाट सेवा निबृत्त भएपछि घङ्गरुको लट्ठी बनाउँदै जेष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क वितरण गदै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्यलाई पनि सम्मान गरिएको छ । आकर्षक लट्ठी बनाएर हालसम्म चार हजार २९५ जनालाई लट्ठी वितरण गर्नुभएका आचार्यलाई सामाजिक हितमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरिएको हो ।

गैंसस महासङ्घ खोटाङले अपाङ्ग र अशक्त पाँच विद्यार्थीसहित सात जनालाई झोला प्रदान गरेको छ । छात्रछात्रालाई गैसस महासङ्घका संस्थापक अध्यक्ष एवम् वडाध्यक्ष राईले प्रदान गरेको नगद रु १५ हजारमा झोला प्रदान गरिएको जनाइएको छ ।

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सोनु हिङ्माङ, दीपा अधिकारी, यूनिसा राई, प्रज्वल राई र विनिशा आचार्यलाई झोला वितरण गरिएको सचिव रिजालले बताउनुभयो । यस्तै, गैसस महासङ्घका सदस्य रहेका झगराज राई र साँगीतिक क्षेत्रमा भविष्य खोज्दै गरेकी बेदन राईलाई पनि झोला वितरण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया