हलेसी न्यूज नेटवर्क प्रा.लि.को कार्यालयबाट सामग्री चोरी गर्नेविरुद्ध मुद्दा दायर

Halesi Khabar

खोटाङ, १४ असोज । हलेसी न्यूज नेटवर्क प्रा.लि.को कार्यालय दिक्तेलबाट सामग्री चोरी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २३ वर्षीय अर्जुन दाहालविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । दिक्तेल बजारस्थित पुरानो वेशक्याम्पमा सञ्चालित हलेसी न्यूज नेटवर्कको कार्यालयबाट बुधबार बिहान कार्यालय फोरेर ल्यापटप र क्यामेरा चोरी गर्ने दाहाललाई प्रहरीले बिहीबार पक्राउ गरेलगत्तै मुद्दा दर्ता गरेको हो ।

चोरीमा संलग्न दाहालविरुद्ध चोरी महल अन्तरगत जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कारवाहीका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । कार्यालयको सामग्री चोरी गरेर फरार भएका दाहाललाई प्रहरीले बिहीबार बिहान करीब आठ बजेको समयमा दिक्तेलस्थित त्रिवेणीचोकबाट डुलीरहेको अवस्थामा पक्राउ गरेको हो ।

दाहालले चोरी गरेका डेल कम्पनीका एक थान ल्यापटप र चार्जर तथा क्यानोन कम्पनीका डिएसएलआर क्यामेरा प्रहरीले दिक्तेलस्थित शरद ज्वेलर्समा लुकाएर राखेको अवस्थामा प्रहरीले बुधबार नै बरामद गरेको थियो । कार्यालयको सामग्री चोरी भएको थाहा पाएपछि खोजतलास गर्दा दाहालले उक्त सामग्री साथीसँग लगेर पसलमा छोडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मुद्दा दर्तापछि प्रहरी हिरासतमा रहेका दाहालविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । “पछिल्लो समय दिक्तेल बजारमा चोरीका घटनाहरु दिनानुदिन वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो, “चोरीमा संलग्न दाहाल पक्राउ परेलगत्तै सङ्गठित वा व्यक्तिले चोरी गरिरहेका छन् भन्नेबारे गहिरो अनुसन्धान शुरु गरिएको छ ।”

कार्यालयको सागम्री चोरीमा संलग्न व्यक्तिलाई कडा कारवाहीको माग गरिएको हलेसी न्यूज नेटवर्कका अध्यक्ष एवम् सञ्चालक हरिवोल आचार्यले बताउनुभयो । “मिडियाकै कार्यालयमा चोरी गर्ने व्यक्तिले ठूलै अपराध पनि गर्न छन्”, उहाँले भन्नुभयो, “चोरीमा संलग्न व्यक्तिलाई अहिले हेर्दा सामान्यजस्तो देखिएपनि उनीविरुद्ध कडा कारवाही हुनुपर्छ । ताकि आगामी दिनमा कुनै पनि व्यक्ति यस्तो क्रियाकलापमा संलग्न नहोस् ।”

लागूऔषधसमेत सेवन गर्ने आरोपित दाहाल पक्राउ परेपछि उनको साथीहरुलाई समेत खोजी गर्नेक्रम शुरु गरिएको प्रहरीले जनाएको छ । अरुको सामान तथा पैसा चोरी गर्दै बाहिरबाहिरै बास बस्दै हिँड्ने दाहाल लामो समयदेखि आफ्नो घरमा समेत नबस्ने पारिवारिक स्रोतले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा व्यक्तिको पसल तथा होटलहरुमा एकपछि अर्को चोरीका घटनाहरु भइरहेका छन् । यसका साथै दिक्तेलस्थित सक्रिय सहकारी संस्थाको कार्यालयमा समेत भर्खरै चोरीको प्रयास भएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया