काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमै रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ । शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालले आयोजना गरेको व्यवसायी भेलालाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताउनुभएको हो ।
विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उहाँले उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।
“पार्टीको ७७ वटै जिल्लामा सङ्गठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन । पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले)भित्रको क्रान्तिकारी धारले शुरु गरेको यो पार्टीको नयाँ यात्रा हो”, अध्यक्ष नेपालले भन्नुभयो, “क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरु अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका मानिसहरु पनि । ती व्यक्तिहरुले ढिलो चाडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौँ ।”
अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गर्नुभयो ।


