काठमाडौँ, ३१ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २२ औं राष्ट्रिय सम्मेलनको तयारीमा होमिएको छ । चुनाव आफ्नो पक्षमा पार्नका लागि नेतृत्वका दाबेदारहरु जिल्ला सम्मेलन तथा भेलाको नाममा देशव्यापी दौडाहामा जुटेका छन् ।
मुलतः नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको हो । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको संगठनका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सुरेन्द्र बस्नेतले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसअघि थोरै प्रतिनिधिको सहभागिता हुन लागेको हो ।
राष्ट्रिय सम्मेलनको तयारीस्वरुप जिल्ला, क्याम्पस समितिलगायतको अधिवेशन धमाधम भइरहेको छ भने प्रदेश सम्मेलन ३ र ४ गते एकैदिन गर्नेगरी तयारी भइरहेको अखिल क्रान्तिकारीले जनाएको छ । ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ हुने महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।


