‘काठमाडौँ, ३१ भदौ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको भन्दै एमालेमै फर्कन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौँ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनुभएको हो ।
“मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ”, शाक्यले भन्नुभयो, “माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।”
साथै उहाँले नेकपा विभाजनपछि आफू लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गर्नुभयो । वागमती प्रदेशकी मुख्यमन्त्री समेत रहनुभएकी शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाउनुभयो ।
“मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ ? भन्ने कुरा मनमा खेल्यो । तर, ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौ भनेर खुसी भएँ”, शाक्यले भन्नुभयो ।
उहाँले एमाले पार्टी बनाउन आफु र आफुजस्तै हजारौंको त्याग र समर्पण रहेकाले पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाईजस्तै अरुलाई पनि खुसी लागेको महशुस भएको बताउनुभयो । उहाँले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताउनुभयो ।


