फाइल तस्वीर
बुटवल, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा माओवादी केन्द्रले वडा पनि नजित्ने दाबी गर्नु भएको छ । बुधबार बुटवलमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केही सिट जितेको भन्दै अब वडा पनि नजित्ने दावी गर्नुभएको हो ।
अध्यक्ष ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताउनुभएको छ । नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै अध्यक्ष ओलीले एमालेमा फर्कन नेता तथा कार्यकर्तालाई समेत आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गर्नुभएको हो । उहाँले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको जिकिर गर्नुभयो ।
उहाँले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको बताउनुभएको छ ।


