विराटनगर, ३० भदौ । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गर्नुभएको । प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएका मुख्यमन्त्री आचार्यले बुधबार पाँचजना मन्त्री तथा राज्यमन्त्री थप गर्नुभएको हो ।
उहाँहरुको आज साँझ सपथ ग्रहण गराइएको छ । यो सँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ । थपिएका मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ ।
त्यस्तै, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।
यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति हुनुभएको थियो ।
मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो वरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको वरियतामा नियुक्त हुनुभएको हो ।


