अनेरास्ववियू क्रान्तिकारी खोटाङको संयोजकमा डिआर खड्का

Halesi Khabar

खोटाङ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको जिल्ला संयोजकमा डिआर खड्का चयन हुनुभएको छ । लामो समय विद्यार्थी राजनीतिमा क्रियाशील खड्कालाई शनिबार दिक्तेल बजारमा सम्पन्न जिल्ला भेलाले संयोजकको जिम्मेवारी तोकेको हो ।

नेकपा माओवादी केन्द्रका खोटाङ जिल्ला सह–इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । आयोजक समितिको पहिलो बैठकले सम्मेलनको मिति तथा स्थान तय गर्ने जनाइएको छ ।

भेलालाई सम्बोधन गर्नुहुँदै धिरेनले अब देशको नेतृत्व हाँक्ने र समय अनुकुल राजनीतिक विचारलाई प्रवाह गर्ने शक्ति भनेको युवा÷विद्यार्थी भएकाले सबैले जिम्मेवारीका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । “ठुलठुला राजनीतिक विद्रोहको नेतृत्व विद्यार्थीहरुले नै गरेको छ”, उहाँले भन्नुभयो, “अबको समाज परिवर्तन गर्ने जिम्मा तपाईहरुको काँधमा आएको छ । अध्ययनसँगै समाज परिवर्तनको काममा लाग्नुहोस् ।”

कार्यक्रक्रममा विशेष अथिति अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य पार्वत राईले विद्यार्थी आन्दोलनको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले विद्यार्थीको पहिलो प्राथमिकता अध्ययन भएकाले आफ्नो अधिकारका निम्ति सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले विद्यार्थी राजनीतिक आन्दोलनको संवाहक रहेको बताउनुभयो । उहाँले विद्यार्थीले राजनीति नबुझेसम्म समाजले राजनीति नबुझ्ने भन्दै सबैलाई अध्ययनशील राजनीतिमा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बराहापोखरी गाउँपालिका इन्चार्ज निशाना राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तहका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

भेलाको अध्यक्षता अनेरास्ववियु क्रान्तिकारीको विघठित समितिका जिल्ला अध्यक्ष माया चाम्लिङले गर्नुभएको थियो । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलन आयोजक समिति कोगठन भएसँगै जिल्ला कार्यसमिति भङ्ग गरिएको हो ।

तपाईको प्रतिक्रिया