सङ्घीय संरचनामा माओवादी केन्द्र : स्थानीय तहलाई कार्यकारी अधिकार र जिल्लामा समन्वय समिति

Halesi Khabar

खोटाङ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर सङ्घीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको छ । मुलुकमा सङ्घीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्लास्थित राजनीतिक दलहरु पुरानै संरचनामा सञ्चालन भइरहेको अवस्थामा माओवादी केन्द्र खोटाङले जिल्लामै पहिलो पटक आफ्नो पार्टीलाई सङ्घीय संरचना अनुसार रुपान्तरण गरेको हो ।

माओवादीको यहि भदौ २२ र २३ गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले स्थानीय तहमा गठन गरिने पालिकास्तरीय समितिलाई कार्यकारी अधिकारसहित सशक्त बनाउने र जिल्लामा समन्वय समितिको भूमिकामा सानो समितिमात्र बनाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले आगामी दिनमा सङ्घीयताको मुलमर्म अनुसार आफूहरुको पार्टी सङ्गठन पनि जोडिएर आउने बताउनुभयो ।

पार्टीको पहिलो बिस्तारित पूर्ण बैठकले जिल्ला समन्वय समितिको संयोजकमा तत्कालीन अध्यक्ष पृथ्वीलाई नै तोकेको छ भने, दशवटै स्थानीय तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत तोकेको छ । पार्टी केन्द्रीय समितिले जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र सह–इन्चार्जमा ध्रुव बुढाथोकी ‘धिरण’लाई तोकेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ईन्चार्जमा सुरेश राई, सह–ईन्चार्जमा होमकाजी आचार्य ‘विनोद’, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । नगर समिति अध्यक्षमा विसन राई र सचिवमा युगशन किराँत चयन हुनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको ईन्चार्जमा जीवन राई ‘सँगीन’, सह–ईन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन हुनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई ईन्चार्ज, सिरिमबहादुर राईलाई सह–ईन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी ‘भूमि’ले ईन्चार्ज, लीला श्रेष्ठ (सविन) र रामबहादुर राईले सह–ईचार्ज, राजन मगरले अध्यक्ष र सीता कटवालले सचिवको जिम्मेवारी पाउनुभएको छ । केपिलासगढी गाउँपालिकाको इन्चार्जमा मनकुमारी रसाइली ‘रस्मी’ इन्चार्ज, रुद्र राई सह–ईन्चार्ज, साङ्गे शेर्पा अध्यक्ष र विष्णु राई ‘जिज्ञासा’ सचिवमा चुनिनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ ईन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरुकुमार राईले सह–इन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाउनुभएको छ । खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ ईन्चार्ज, इन्द्र नाराथुङ्गे सह–ईन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजीलाई सचिव बनाइएको छ ।

बराहपोखरी गाउँपालिकामा निशाना राई ईन्चार्ज, दुर्गाबहादुर राई सह–ईन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बन्नुभएको छ । जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राईले ईन्चार्ज, वीरबल किराँती र केदार राईले सह–ईन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाउनुभएको छ ।

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’ ईन्चार्ज, बिर्सिका राई सह–ईन्चार्ज, नवीन राई अध्यक्ष र मोहन खत्रीलाई सचिवको जिम्मेवारी दिइएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय पार्टी निर्देशन अनुसार जिल्लास्थित सबै जनवर्गीय सङ्गठनहरुको समेत जिम्मेवारी तोकिने संयोजक पृथ्वीले बताउनुभएको छ ।

दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् १ नं. प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभएको छ । “एमसीसीमा उल्लेख भएका सुरक्षा संवेदनशीलता र आर्थिक लेखा परीक्षण जस्ता विषयहरु विवादित रहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रहित विपरितका कुनै पनि सन्धिसम्झौतामा हाम्रो पार्टीले हस्ताक्षर गर्दैन र अहिले विवादमा रहेको एमसीसी पनि पास हुँदैन ।”

तपाईको प्रतिक्रिया