खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घोषणा गरेको ‘सेवा प्रवाह सुधार वर्ष’ कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले घोषणा गरेको सेवा प्रवाह सुधार वर्ष सफल पार्न नगरप्रमुख दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबीच शुक्रबार कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच भएको सम्झौतालाई आत्मसाथ गर्दै कार्य सम्पादन गर्न÷गराउन नगरप्रमुख रिजालले निर्देशनसमेत दिनुभयो । जनताबाट गुनासो नआउने गरी आफ्नो मर्यादा र जिम्मेवारीलाई पूरा गर्दै प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।
कार्य सम्पादन सम्झौता कार्यान्वयन गरिएसँगै पेशागत आचारण र आचरसंहिता भुलेर जिम्मेवारी पूरा नगर्ने जो कोही कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नगरप्रमुख रिजालको चेतावनी दिनुभएको छ । “नगरपालिकाको कतिपय कर्मचारीले उत्कृष्ट कार्य सम्पादन गरेपनि कतिपय कर्मचारीले पेशागत आचारणमा तत्कालै सुधार ल्याउनुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यस्ता कर्मचारीलले तत्काल आचारण सुधार नगरेमा क्षमाको मौका दिइने छैन ।”
नगरपालिकामा कार्यरत केही कर्मचारी आफ्नो जिम्मेवारी भुलेर मादक पदार्थ सेवन गरी बाटैमा अलपत्र पर्ने गरेको समेत पाइएका आगामी दिनमा त्यस्तो पाइएको खण्डमा तत्कालै कारवाही गरिने नगरप्रमुख रिजालले बताउनुभयो । “अघिल्ला वर्षहरुबाटै सेवा प्रवाह तथा कार्य सम्पादन सुधारका लागि कार्यक्रमहरु अघि ल्याइएको थियो”, उहाँले भन्नुभयो, “अझै राम्ररी सुधार हुन नसकेकाले यो वर्ष कडाइका साथ कार्यान्वयन गर्न÷गराउन नगरपालिकाले औपचारिक रुपमा कार्य सम्पादन सम्झौता गरेको हो ।”
अघिल्लो वर्षहरुमा १०० प्रतिशत मानेर कार्य सम्पादन मूल्याङ्कन गर्ने गरिएपनि यस वर्षबाट जति भएको छ त्यही आधारमा मात्रै कार्य सम्पादन मूल्याङ्कन गरिने नगरप्रमुख रिजालले बताउनुभयो । नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित समारोहमा प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा प्रमुख तथा वडा सचिवहरुबीच समेत कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
नगरप्रमुख रिजाल र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा अधिकृत एवम् कर्मचारीबीच १२ बुदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले लागू गरेको सेवा प्रवाह सुधार वर्ष दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएकै मितिदेखि लागू हुने जनाइएको छ ।
कार्य सम्पादन सम्झौता कार्यान्वयनका लागि नगरप्रमुखले सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने जनाइएको छ । नगरपालिकासँग सम्बन्धित प्रचलित ऐन, कानून, नीति तथा निर्देशिका र कार्यविधिहरुको परिधिभित्र रहेर सम्झौता गरिएको छ ।
कार्य सम्पादन सम्झौताले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधामा मापनयोग्य नतिजा हाँसिल हुने अपेक्षा गरिएको छ । राजनीतिक विचारप्रति तटस्थ रहि सेवाप्रति इमान्दार हुनुका साथै नगरबासी नागरिप्रति जिम्मेवारी हुनुपर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाले गरेको कार्य सम्पादन सम्झौतामा ‘म भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिने छैन’ उल्लेख गरिएको छ । ‘समाजवाद उन्मुख सभ्य र समृद्ध नगर, दिक्तेल रुपाकोट मझुवागढीबासीको रहर’ भन्ने नाराका साथ अगाडि बढेको नगरपालिकामा यसअघि शैक्षिक सुधारका लागि नगरभित्र सञ्चालित विद्यालयहरुसँग कार्य सम्पादन सम्झौता गरिएको थियो । तस्वीर उपलब्ध छ ।


