रामचन्द्रकोे नगरसभापतिमा उम्मेद्वारी घोषणा, सम्भाबना के छ ?

Halesi Khabar

खोटाङ । नेपाली कांग्रेस खोटाङका युवा नेता रामचन्द्र राईले कांग्रेसको आसन्न अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष समेत रहेका राईले आइतबार हुर्लुङमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ गते हुने कांग्रेसको नगर अधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
कांग्रेसलाई बुढोको पार्टी भनिने आक्षेपलाई चिर्दै नेतृत्वमा पुगेर पार्टीको सुदृढिकरणका लागि नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको नेता राईले बताए ।

‘कांग्रेसको नेतृत्वमा युवा पुग्नु पर्छ । यो युवाको पार्टी हो भनेर देखाउनु छ । नगरपालिकामा कांग्रेसको संगठनलाई सुदृढिकरण गर्ने र मजवुद बनाउने योजना सहित उम्मेद्वारी दिने निर्णय गरेको हुँ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘हाम्रो भेगीय र जातीय सन्तुलन मिलाएर टिम बन्छ । पार्टीलाई फलाऔं फूलाऔं भन्ने लक्ष्य छ । यसका लागि पार्टीलाई म जत्तिको युवा चाहिन्छ । यसका लागि सवै एंगलबाट म योग्य छु ।’
नगर सभापतिका प्रत्यासी राईले पत्रकार सम्मेलनमा कुनै पनि गुट÷उपगुटकातर्फबाट उम्मेद्वारी नदिएको बताए । उनले ज्येष्ठ नेता तथा कार्यकर्ताको सम्मान गर्दै सवैलाई समेटेर संगठन मजवुद बनाउन अग्रसर हुने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय तहको निर्वाचन अघिसम्म वडा कार्य समिति सभापतिको जिम्मेवारीमा रहेका राईले आफ्नो लागि अवको माथिल्लो र उपयुक्त पद पनि नगर सभापति भएको उल्लेख गरे ।

‘स्थानीय तहको निर्वाचनसम्म म वडा कार्य समितिको सभापति थिएँ । मेरो लागि अवको सुहाउँदो पद पनि नगर सभापति हो,’ राईले भने, ‘कतिपयले मलाई मेयरमा उठ्नका लागि नगर सभापतिमा दावी गरेको भनिरहेका छन् । म मेयरमा उठ्नका लागि सभापति बन्न खोजेको होईन । संगठन मजवुद बनाउनका लागि नगर सभापतिमा मेरो उम्मेद्वारी हो । संगठन सुदृढ बनाउने योजना सहित म अघि सरेको छु ।’

राईले पशुपति क्याम्पस काडमाडौंबाट २०६२ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका हुन् । कुन्दनराज काफ्लेको प्रोत्साहनमा राजनीतिमा प्रवेश गरेको राईले बताए । जिल्लाकै ठूलो नगरपालिकाको सभापतिका लागि कांग्रेसभित्र प्रकाश श्रेष्ठ, इन्द्र घिमिरे लगायत आकांक्षी रहेको श्रोतले जनाएको छ ।

वडा अधिबेसन, गाउँ÷नगरपालिका अधिबेसन, प्रदेश क्षेत्र क÷ख अधिबेसन, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिबेसन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सारगर्मी बढेको छ ।

कांग्रेसको वडा अधिबेसन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिबेसन भदौ २७ गते, प्रदेश क्षेत्र क÷ख अधिबेसन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिबेसन असोज ५ गते, जिल्ला अधिबेसन असोज १० गते, प्रदेश अधिबेसन असोज १२ गते र केन्द्रीय महाधिबेसन  मंसिर ९ देखि १३ गते सम्म  हुँदै छ ।

तपाईको प्रतिक्रिया