रौतहट,७ भदौ । रौतहटका पत्रकार मोहम्मद मोजुबुल्लाहलाई मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले नाटकीय ढंगले फसाएको पुष्टि भएको छ। सिसी क्यामरामा रेकर्ड भएको लागूऔषध राख्दै गरेको भिडियोको अनुसन्धानबाट पत्रकार मोजुबुल्लाह निर्दोष रहेको पुष्टि भएको जनाइएको छ।
प्रहरीले साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो। तर सिसी टिभी फुटेजमा अरूले नै लागूऔषध राखेको दृश्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले त्यसबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानपछि घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले मोटरसाइकलमा लागुऔषध राख्न लगाएको पाइएको जनाइएको छ। ती दुई प्रहरीले धिरज यादव भन्ने व्यक्तिलाई लागूऔषध राख्न लगाएको खुलेको छ।
प्रहरीले पत्रकार सम्मेलन गरेर यसबारे सबै विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो।


